कार्तिक ८,
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबारबाट प्रथम तिलोत्तमा वडा स्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता–२०७६ सुरु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ को आयोजनामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । वडा नं. १ को चपरहट्टी स्थित खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता दुई दिनसम्म चल्ने छ ।
भलिबल खेलको विकास गर्दै खेलाडीहरुको प्रोत्साहनका लागि नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष तामानाथ पाण्डेले बताए । दश टीमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार, द्धितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार तथा सान्त्वना हुनेले ५ हजार रुपैंयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख घिमिरेले चपरहट्टी स्थित खेलमैदानलाई स्तरोन्नती गर्दै लैजाने योजना रहेको बताए । खेलाडीहरुलाई प्रोत्साहन गर्ने काममा नगरपालिका सधैं तत्पर रहेको बताउँदै उनले युवाहरुले खेलकुदसँगै समाजप्रतिको दाहित्वलाई समेत सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । समृद्ध तिलोत्तमाको अभियानलाई साकार पार्न युवाहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै नगर प्रमुख घिमिरेले युवाहरुलाई सरसफाईमा जुट्न पनि आह्वान गरे । कार्यक्रममा वडाध्यक्ष तामानाथ पाण्डे, नेपाल कम्युनिष्ट पार्टीका नगर सचिव लक्ष्मण खनाल, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, चन्द्र अधिकारीलगायतले बोलेएका थिए ।
प्रतिक्रिया