भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम बहादुर आलेले मौषममा सुधार आउने बित्तिकै क्यालिब्रेसन फ्लाईट हुने बताएका छन् । थाई कम्पनी क्यालिब्रेसनको लागी तयारी अवश्थामा रहेको र मौषममा सुधार हुने बित्तिकै क्यालिब्रेशन फ्लाईट हुने उनले जनाएका हुन् ।
आज भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको अवलोकन गर्दै मन्त्री आलेले क्यालिब्रेसन फ्लाईटको लागी तोकिएको यो अन्तिम मिति भएको दावी गरे । “बढीमा २ महिना भित्र क्यालिब्रेस फ्लाईट हुन्छ, यसलाई अन्तिम मिति माने हुन्छ ।” सञ्चारकर्मिहरुसंगको कुराकानीमा मन्त्री आलेले भने “अबको ३ महिना भित्र बिमानस्थलको उद्घाटन समेत गरेर अगाडी बढ्छौ ।”
जानी जानी ढिलो गरेको कर्मचारीलाई आरोप
मन्त्री आलेले गौतम बुद्ध बिमानस्थल परियोजनालाई जानी जानी क्यालिब्रेन फ्लाईट लम्ब्याएको आरोप समेत लगाए । उनले साना साना कुराको अड्को थापेर आयोजनाले क्यालिब्रेसन फ्लाईट लम्ब्याउदै उदघाटनमा ढिलाई गरेको बताए । गौतम बुद्ध बिमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारी तर्फ हेर्दै मन्त्री आलेले आयोजना जानी जानी ढिलो गरेको सोझो आरोप लगाए । उनले अब कुनै पनि बहानामा क्यालिब्रेशन फ्लाई नलम्ब्याउन समेत चेतावनी दिए ।
मन्त्री आलेलाई आयोजनाबारे जानकारी गराउदै गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बिमानस्थलका प्राय सबै काम सकिएको बताए । उनले अब आयोजनाले क्यालिब्रेशन फ्लाईटको मात्र पर्खाई रहेको बताउदै क्यालिब्रेसन फ्लाईट भए आयोजनाले बिमानस्थल सरकारलाई हस्तान्तरण गर्न तयारी अवश्थाका रहेको जनाए । अधिकारीले बिमानस्थलका ९८ दशमलव ७५ प्रतिशत काम सकिएको जानकारी दिए ।
कार्यक्रमबाटै महानिर्देशकलाई फोन
कार्यक्रम चल्दै गर्दा आयोजना प्रमुख प्रवेश अधिकारीले मन्त्री आलेलाई क्यालिब्रेशन फ्लाईट पछि पनि परिक्षण उडानको लागी केही समय लाग्ने बताए । अधिकारीको कुराबाट सन्तुष्ट नदेखिएका मन्त्री आलेले तुरुन्तै नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई फोन सम्पर्क गरे र परिक्षण उडान कति समयमा गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा राखे । परिक्षण उडान कहिले गर्न सकिन्छ भन्ने यकिन नभएका महानिर्देशकले “बुझेर फोन गर्ने” भनेर समय माग गरे ।
केही समय पछि महानिर्देशक राजकुमार क्षेत्रीले क्यलिब्रेसन फ्लाईट गरे पछि एरो थाई कम्पनीले प्राधिकरणलाई रिपोर्ट बुझाउने र सबै थोक ठीक भए हप्ता दश दिनमा परिक्षण उडान गर्न सकिने जानकारी दिए । त्यसको ५६ दिनमा फेरी प्रक्रिया पु¥याएर नियमित उडानको लागी तयार हुने क्षेत्रीले मन्त्री आलेलाई जानकारी दिए । महानिर्देशकको कुरा सुनिसकेपछि मन्त्री आलेले क्यालिब्रेशन फ्लाईटको लागी ढिलो नगर्न फेरी पनि निर्देशन दिए ।
यस्तो छ बिमानस्थलको प्रगति
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको रहे पनि आर्थिक प्रगति ७८ प्रतिशत मात्र रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको हो ।
आइसिबी वान अन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन् ।
३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको आयोजनाको ९८ दशमलव ७५ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरि रहदा ६ पटक म्याद थपिसकिएको छ । छैठौ पटक थपिएको २०२१ को जुन महिना सम्ममा पनि काम नसकिदा चिनिया कम्पनीले फेरी म्याद थप गर्न निवेदन दिएको थियो ।
प्रतिक्रिया