ताजा अपडेट »

क्रिकेट संघ रूपन्देही अध्यक्षमा शक्ति गौचनले उम्मेदवारी दिने

शुक्रबार, २३ पुस २०७८

बुटवल । नेपाली राष्ट्रिय टिमका पूर्व स्पिनर शक्ति गौचनले रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल रूपेन्देहीमा स्टार क्रिकेट एकेडेमी संचालन गरिरहेका गौचनले माघ ५ गते हुने जिल्ला क्रिकेट संघको अधिवेसनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

गौचनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै सम्बन्धित व्यक्तिबाट सहयोगको आसा गरेका छन्। ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेटको विकासका निमित्त, नयाँ सोच लिएर लिएर रूपन्देही जिल्लालाई देशकै उत्कृष्ट जिल्ला बनाउने उद्देश्यका यसपटक जिल्ला क्रिकेट संघको चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न गइरहेको छु। सम्बन्धित व्यक्ति र पदाधिकारीबाट सहयोग र शुभेच्छाको आसा गरेको छु,’ उनले भने। 

नेपाल क्रिकेट संघ (क्यान) ले चार वर्षे कार्यकाल सकिएका जिल्लाहरूमा निर्वाचन गर्ने निर्णय गरेसँगै जिल्लाहरूमा अधिवेसन हुन लागेको हो। जिल्ला अधिवेसन सकिएपछि क्यानले आफ्नो वार्षिक साधारणसभा गर्नेछ। साधारणसभामार्फत उपाध्यक्ष र सचिवको निर्वाचन हुनेछ। 

तत्कालिन उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि यी पद खाली छन्। जिल्ला अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्ने शक्ति चर्चित पूर्व राष्ट्रिय खेलाडी हुन्। उनीसँगै हरि थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।