कार्तिक ८,
काठमाडौं । नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन ०२०’मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४ औँ स्थानमा पर्न सफल भएको छ । सन् २०१९ को सुरुआतमा नेपाल ११० औँ स्थानमा थियो । अर्थतन्त्रका केही महत्वपूर्ण सूचकमा भएको सुधारले नेपाल पहिलोपटक सय देशको सूचीभित्र समावेश भएको हो । डुइङ बिजनेसको तथ्य पत्ता लगाउन विश्व बैङ्कले विभिन्न १० वटा सूचकलाई आधार मानेर त्यसै अनुसार छुट्टाछुट्टै रूपमा देशको स्थिति निर्धारण गरेको छ ।
१० सूचकमध्ये ऋण प्राप्ति र अन्तर्देशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा, समस्याको समाधानमा नेपालको अवस्था राम्रो छ । ऋण प्राप्तिमा नेपाल ३७ औँ, अन्तर्देशीय व्यापारमा ६० औँ, साना लगानीकर्ताको सुरक्षामा ७९ औँ र समस्या समाधानमा ८७ औँ स्थानमा छ । व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५ औँ स्थानमा छ । प्रतिवेदन अनुसार नेपालमा कुनै नयाँ व्यवसाय सुरु गर्न २२.५ दिन लाग्छ ।त्यस्तै निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७ औँ स्थान प्राप्त गरेको छ ।
औसतमा ११८ दिनमा बल्ल निर्माणको अनुमति पाउने प्रतिवेदनमा उल्लेख छ । विद्युतको नियमित आपूर्ति भइरहे पनि व्यवसाय सञ्चालनका लागि विद्युत् प्राप्तिको अवस्थामा भने नेपाल १३५ औँ स्थानमा छ । विद्युत् प्राप्तिका लागि ४९ दिन लाग्ने उल्लेख छ । सम्पत्ति दर्तामा नेपालले ९७ औँ स्थान प्राप्त गरेको छ । यसको प्रक्रिया भने जम्मा छ दिन लाग्ने देखिन्छ । कर भुक्तानीमा भने नेपालको अवस्था कमजोर देखिन्छ । प्रतिवेदन अनुसार नेपाल यसमा सबैभन्दा खराब अवस्थामा अर्थात् १७५ औँ स्थानमा छ । कर भुक्तानीमा वर्षमा ३७७ घन्टा लाग्ने उल्लेख छ ।-गोरखापत्रबाट
प्रतिक्रिया