ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा थारु होमस्टे, कला-संस्कृतिको प्रवर्द्धनमा जोड

सोमबार, १९ पुस २०७८

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-२ स्थित उचिडिहवामा थारु (घरबास) होमस्टे सञ्चालनमा आएको छ । घरबासबाट थारु खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवम् सवर्द्धन र प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।

होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । यस्तै कार्यक्रम गर्ने सभा हल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिबाट विभिन्न चरणमा तथा विभिन्न शिर्षकमा करिब पौने करोड लगानी गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७२/७३ मा चार लाख ७५ हजार, ०७३/७४ मा ६ लाख ६५ हजार विनियोजन गरेको थियो । यसैगरी निर्वाचन क्षेत्र पूर्वधार विकास विशेष कार्यक्रम अन्तरगत १६ लाख ५७५००, सैनामैना नगरपालिकाबाट १९ लाख ९० हजार तथा तथा लुम्बिनी प्रदेश मुख्य मन्त्री ग्रामिण विकास परियोजनाबाट १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालन समितिका अध्यक्ष खुसिराम चौधरीले जानकारी दिए ।

यसैगरी ९ लाख ४६ हजार ५२६ रुपैयाँ लागत सहभागिताबाट जुटाइएको थियो । ‘होमस्टेमा आउने पाहुँनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिने छ ।’–चौधरीले भने, दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा बेड छन् । हाल होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ ।

थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताए । ‘समुदायको प्राचिन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्यो, थारु कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवर्द्धनसँग जोडेको छ’ अध्यक्ष चौधरीले भने । बुटवलबाट १४ किलोमिटर पश्चिममा रहेको महेन्द्र राजमार्गको कालिकाचोकबाट उत्तरमा सो होमस्टे रहेको छ । उचिडिहवा गाउँ थारु समुदायको पुरानो एवम् ऐतिहासिक वस्ती भएको बताइएको छ ।