ताजा अपडेट »

सुनचाँदीसँगै रिसोर्ट र ह्याचरी व्यवसायमा बाबु–छोरा

सोमबार, १९ पुस २०७८

बुटवल । सुनचाँदी व्यवसाय परम्परागत र ठूलो लगानी तथा कारोबार हुने व्यवसाय हो । साथै यसलाई ‘जाति विशेष व्यवसाय’का रुपमा पनि लिइन्छ । प्रायःयो व्यवसाय गर्नेहरुले अन्य व्यवासाय गर्ने वा गर्नुपर्ने अवस्था पनि हुँदैन । तर,रुपन्देहीको सालझण्डीमा ३५ वर्षदेखि सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएको एक परिवारले भने सुनचाँदीसँगै प्रतक्ष्य रुपमा हस्पिटालिटी र कृषि क्षेत्रमा पनि सहभागिता जनाउँदै ठूलो लगानी गरेको छ ।

सैनामैना –१० सालझण्डीमा पुख्र्यौली व्यवसाय सुनचाँदी पसल सञ्चालन गर्दै आएका ५५ वर्षिय भेषराज शाक्य र उनका छोरा २८ वर्षिय अंकित शाक्य सुनचाँदी व्यवसायसँगै हालै कृषि र होटल व्यवसाय सुरु गरेका छन् । शाक्य बाबु–छोराले सैनामैनाकै पानबारी जाने सडकमा दर्पण रिसोर्ट सञ्चालनमा ल्याएका छन् । बाबु बाजेको पालादेखिनै सुनचाँदी व्यवसाय गर्दै आएका उनीहरु फरक व्यवसायमा प्रवेश गर्नुको कारण भने कोरोना महामारी र लकडाउन रहेको बताउँछन् ।

‘हामीले पनि वर्षौदेखि बाउ–बाजेको पालाको सुनचाँदी व्यवसाय गर्दै आइयो तर, कोरोना महामारी र लकडाउन हुँदा एउटै मात्र पेशाले नहुने जस्तो लाग्यो । अब समय सापेक्ष अन्य व्यवसाय पनि गर्नु पर्दछ भन्ने लागेर पुख्र्यौली पेशाभन्दा फरक क्षेत्रतर्फ लाग्यौं ।” भेषराजले भने । कोरोना कहरकै बीच शाक्यले सैनामैना सालझण्डीमै करिब १२ करोड लगानीमा हयाचरी व्यवसाय सुरुवात गरेका छन् । डेढ बिघा क्षेत्रफलमा कुखरापालन तथा खेती सुरुवात गरेका हुन् । त्यस्तै कोरोना अगाडिदेखि छोराहरुले सुरुवात गरेको रिसोर्टमा पनि हाल उनी प्रतक्ष्य संलग्न छन् । सिए अध्ययन गरेका छोरा अंकित शाक्य र उनका साथीहरुले उक्त रिसोर्ट निर्माण सुरु गरेका थिए ।

तर,पछि शाक्यले आफ्नै लगानीबाट निर्माण पूरा गरी हाल दर्पण रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनका छोरा अंकितले उक्त रिसोर्टमा पूर्ण समय दिएका छन् । नयाँ पुस्ताले पुख्र्यौंली पेशा भन्दा फरक तथा समयको माग अनुसार केहि गरौं भनेर रिसोर्टको कन्सेप्ट अनुसार शुरु गरेको उनी बताउाछन् । उनी भन्छन् ‘ बाबाहरुको सुनचाँदी पसल छ , त्यसबाट हामीलाई पढाउनु भयो , पढ्यौं । अहिले हस्पिटालिटि एवम् पर्यटनको डिमाण्ड र चार्मिङ छ । अनि मलाई पनि केहि नयाँ काम गर्न मन लाग्यो सोही अनुसार बाबा र साथीहरुलाई कन्भिन्स गरेर बनाउन सुरु त गर्यौ तर, कोरोना सुरु भयो । त्यस्तै साथीहरुसित पछि छुट्यौं र पछि बाबाहरुको साथ र सहभागिताले निर्माण सम्पन्न गरेर अहिले सञ्चालनमा ल्याएका छौं । औपचारिक शुभारम्भ भने गरेका छैनौं ।’

शाक्य बाबु छोरा र उनका परिवारको सक्रियतामा सुनचाँदी व्यवसायसँगै हाल दर्पण रिसोर्ट र फूलबारी पशुपंक्षी फार्म सञ्चालनमा ल्याएका छन् । रिसोर्टमा करिब १५ करोड र ह्याचारीमा १२ करोड लगानी गरेको भेषराज शाक्य बताउँछन् । ‘छोराको इच्छा र लकडाउनको शिक्षाले फरक क्षेत्रमा पनि लगानी गरियो । दाजुभाई आफन्त,इष्टमित्रबाट साथ सहयोग मिल्यो काम गर्दै जाँदा २५ करोड बढी लगानी लाग्यो । नयाँ क्षेत्र अनुभवको कमी भएपनि सिक्दै,सल्लाह सुझाव अनुसार अगाडि बढ्नु पर्ला नि ।’ भेषराजले भने ।

रिसोर्ट आधुनिक डिजाइन र आकर्षकसँगै समय सापेक्ष तयार भएको उनको दावी छ । सैनामैनामा मात्रै रुपन्देहीमै पनि फरक र आकर्षक रिसोर्टका रुपमा तयार गरेका छौं । भौतिकसँगै सेवाको गुणस्तरमा पनि हामी नमूना बन्ने लक्ष्यसाथ अगाडि बढेका छौं । उनले भने । हाल परीक्षण्का रुपमा रिसोर्टबाट सेवा दिइरहेको र केहि समयपछि औपचारिक शुभारम्भ गर्ने तयारी रहेको उनले बताए ।

६ कट्ठा क्षेत्रफलमा बनेको रिसोर्टमा हाल ११ रुम,गार्डन बार,रक बार,रेष्टूरेण्ड एण्ड बार, आकर्षक गार्डेन, सेल्फी जोन, लाइभ म्यूजिक , नेपाली, इण्डियन, चाइनिज ,कण्टिनेन्टल फूड लगाएतका आकर्षक तथा परिकारहरुको सेवा उपलब्ध रहेको दर्पण रिसोर्टका प्रबन्ध निर्देशक अंकित शाक्यले बताए ।

भारतबाट चार्टर एकाउण्टेण्ट अध्ययन गरेर फर्केका उनले रिसोर्टलाई व्यवसायिक रुपमा अगाडि बढाउने योजनाका साथ लागेका छन् । अध्ययन,अनुभव भन्दा फरक क्षेत्र भएको हुनाले उनलाई थप चूनौती त छनै । तर,आफूले रोजेको क्षेत्रमा काम गर्नपनि बढी रुचि लाग्ने उनी बताउँछन् । हाल रिसोर्टमा २० जना रोजगार रहेको र एक वर्ष भित्रै ४० जनालाई रोजगार बनाउने उनी बताउँछन् ।

विशेषगरी स्थानीय, सैनामैनामै गुणस्तरीय सेवा प्रदान गर्ने, कपिलबस्तु,अर्घखाँची र लुम्बिनीका पर्यटकलाई शान्त वातावरणमा सेवा प्रदान गर्ने सार्थ पूर्व–पश्चिम राजमार्गका यात्रुहरुलाई पनि सहज सेवा प्रदान गर्ने योजना अनुसार रिसोर्टले तयारी गरेको उनले बताए । रिसोर्टमा रुपन्देहीकै रुपन्देहीकै प्रतिष्ठित होटलमा सेफको काम गरेका सेफ, काठमाण्डौंमा काम गरेका अनुभवी कर्मचारी लगाएत स्थानीय दक्ष जनशक्ति र स्रोतको प्रयोग गरिएको उनले जनाए ।

आफूहरुले थालनी गरेका नयाँ व्यवसायमा भेषराजका भाइहरु नारायण शाक्य,सुजन शाक्य ,सरोज शाक्य लगाएत शाक्य परिवारको लगानी, सहभागिता र सहयोग रहेको रिसोर्ट तथा ह्याचरीका प्रमुख भेषराज शाक्यले बताए ।