ताजा अपडेट »

‘हवाई नीति–२०६३’ लाई परिमार्जन गर्दै नयाँ हवाई नीति आउँदै

विहीबार, ०७ कार्तिक २०७६

कार्तिक ७,

काठमाडौं । सरकारले ‘हवाई नीति–२०६३’ लाई परिमार्जन गर्दै नयाँ हवाई नीति बनाउने भएको छ । हवाई यातायातका क्षेत्रमा विश्वव्यापी रूपमा ग्रहण गरिएको प्रविधि, असल अभ्यास र नयाँ आयामलाई दृष्टिगत गरी नयाँ हवाई नीति बनाउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।जसका लागि मन्त्रालयले हवाई उड्डयन क्षेत्रमा आएको विश्वव्यापी आयाम, दक्षिण एसियाली मुलुकमा रहेको व्यवस्था र नेपालको बदलिँदो आवश्यकता समेतलाई मध्य नजर गरी नयाँ हवाई नीति तर्जुमा गर्न कार्यदलसमेत गठन गरेको छ । गत २९ असोजको मन्त्रीस्तरीय निर्णय अनुसार पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

सो कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, नेपाल वायुसेवा निगमका पूर्वउपप्रबन्धक राजुबहादुर केसी, प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक संघका तर्फबाट सुमन पाण्डे र वरिष्ठ विमान चालक क्याप्टेन दधिराम निरौला सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा भने पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महशाखा प्रमुख सहसचिव सुरेश आचार्य रहेका छन् ।कार्यदलले हवाई यातायातका क्षेत्रमा विश्वव्यापी प्रविधि, असल अभ्यास एवं सार्क मुलुकमा रहेको व्यवस्था र नेपालको बदलिँदो आवश्यकतासमेतलाई समष्टिगत रूपमा अध्ययन गरी नयाँ हवाई नीतिको मस्यौदा तयार गर्न ६० दिनको समय दिएको छ ।

यस नीतिको मस्यौदा पेस गर्न दुईवटा कार्यशाला गोष्ठीसमेत आयोजना गर्ने कार्यादेश प्राप्त सो कार्यदलको मंगलबार बसेको बैठकले हवाई क्षेत्रसँग आबद्ध एवं जानकार प्राप्त व्यक्ति वा संस्थाले सुझाव दिन चाहेको खण्डमा सुझाव संकलन गर्ने निर्णय गरेको छ । मन्त्रालयको हवाई उद्योग शाखामा स्वयं उपस्थित भई वा पत्राचार÷फ्याक्स वा इमेलमार्फत आफ्नो सुझाव उपलब्ध गराउन पनि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मुलुकको हवाई समयानुकूल परिमार्जन गर्नका लागि सरकारलाई सबै क्षेत्रबाट दबाब परेको थियो । -राजधानी