कार्तिक ६,
ग्लोबल आवाज
बुटवल । रुपन्देही र आसपासका क्षेत्रका पर्यटकीय क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन पूूर्वाधार पहिलो आधर रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको बुधबार बुटवलमा पर्यटकको बसाई लम्बाउने विषयमा सरोकारवालाहरुसँग राखेको अन्तरक्रियामा पूर्वाधारको विकाससँगै आवागमनमा वृद्धि सकिने बताएको छ । कार्यक्रममा पर्यटन ब्यवसायी तथा सरोकारवाला निकायका बक्ताहरुले गम्भीर चासोका साथ आफ्ना राय सुझाव राख्दै उनीहरुले केन्द्रीय सरकारले घोषणा गरको नेपाल भ्रमण वर्ष –२०२० र प्रदेश नं. ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सहयोग पुर्याउने गरी पर्यटक आवागमनमा वृद्धि गर्न आवश्यक सुझाव दिएका थिए ।
उनीहरुले अल्पकालिन र दीर्घकालिन नीति बनाएर सरोकारवाला निकायले ठोस् पहल गर्न आवश्यक रहेकोपनि बताए । स्थानीय तहहरुको अगुवाइमा थप पर्यटकीय गन्तब्यहरुको पहिचान गर्नुपर्ने, आन्तरिक तथा बाह्य पर्यटकको लागि भ्रमण प्याकेजहरु बनाउनुपर्ने, प्रचारका आधुनिक शैली अपनाउनुपर्ने, होमस्टेहरुलाई ब्यवस्थित गरी स्थानीय उत्पादनका उपभोग्य सामग्रीलाई नै बढी प्राथमिकता दिनुपर्ने, पाहुना सत्कार र शैलीमा आधुकिनता दिनुपर्ने, पर्यटनको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन र पुरस्कारको ब्यवस्था गरिनुपर्ने लगाएतका सुझावहरु बक्ताहरुले दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रका अगुवा दलबहादुर गुरुङले नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षलाई सहयोग पुर्याउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उल्लेख गरे । उनले पर्यटनको क्षेत्रमा प्रचारका आधुनिक शैली आवश्यक रहेको भन्दै पाहुनालाई गरिने सेवा र सत्कारमा पनि सुधार गर्नुपर्ने बताए । कार्यक्रममा अध्यागमन कार्यालय बेलहियाका निमित्त प्रमुख प्रेम रोकाहाले पर्यटकको चाहना अनुरुप भ्रमण प्याकेज बनाउन सके पर्यटकलाई सहज हुने उल्लेख गरे ।
नेपाल भ्रमण वर्ष सन् २०२० का प्रदेश नं. ५ का सहसंयोजक माधव नेपालले पर्यटन क्षेत्रमा आतिथ्यता प्रमुख कुरा भएकाले पाहुनाको सत्कारलाई व्यवासायीले मुख्य ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा नाटाका प्रदेश नं. ५ अध्यक्ष सागर अधिकारीले पर्यटकको बसाई लम्ब्याउन पूर्वाधारको बिकास पहिलो सर्त भएको उल्लेख गरे । सैनामैना थारु होमस्टे संचालक समितिका अध्यक्ष खुसीराम चौधरीले होमस्टेको पहुँच बढाउन सके पर्यटन प्रवर्धनमा सहयोग हुने चर्चा गरे । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बुटवलका अध्यक्ष समुन्द्र जी.सी.ले होटल खोल्ने समयमा समेत कडाई गरिएको भन्दै यसरी पर्यटन प्रवर्धनमा प्रशासनले अवरोध गर्न नहुने उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सहदेव खान, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, पत्रकार शिद्धिचरण भट्टराई, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइँटेल, गजेडी ताल बिकास समितिका अध्यक्ष मिनप्रसाद थापा, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहोनी, उद्योग व्यापार संगठन रुपन्देही महासचिव अनिल ज्ञवाली, नुवाकोट विकास समितिका सचिव केहरसिंह खड्का, ब्यवसायीहरु कृष्ण गुरुङ, सूर्य सारु, प्रेमलाल सुवेदी, माधव कुमार पौडेल, राजकुमार केसी लयातले बोल्दै यस क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन गर्न सकिने पहलका विषयमा चर्चा गरेका थिए । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष नरेश के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिना ढकाल, सचिव तेजेन्द्र केसी लगायतले पनि धारणा राखेका थिए ।
प्रतिक्रिया