भैरहवा । “नेपाल सुरु भएको हो ?”, “यहा सम्म भारत नै हो ?” भैरहवामा निर्माण भएको पर्यटकीय गेट पुगेपछि नेपालीहरुले नै सोध्ने प्रश्न हो यो । सबै भन्दा बढी यो प्रश्नको सामान गरेका हुन्छन नजिकै बसेको शसस्त्र प्रहरीले । कतिपयले नेपालको सीमा नजानेर सोधेका हुन्छन भने अधिकांश प्रश्नकर्ताको सोधाईमा ब्यंग्य झल्किने गरेको छ ।
सीमा बन्दा करिब डेढ किलोमिटर पर पर्यटकीय गेट बनाएको नगरपालिकाले यसको जस पाउन सकिरहेको छैन । निर्माण सम्पन्न भएदेखी नै नगरवासीले नगरपालिकालाई अपजसको भारी बोकाएका छन् । बिरोधकै बिच शिलान्यास गरिएको गेट उद्घाटन पछि झनै विवादित बनेको छ । नगरवासीहरुद्वारा उक्त गेट निर्माण कार्यको चर्को आलोचना सुरु भएको छ । लागत अनुसारको गेट तयार नभएको, भ्रष्टाचारको प्रशस्त सम्भावना रहेको, सीमा भन्दा करिब डेढ किलोमिटर बनाईएको एवम निर्माण भएको उक्त गेटको बनावट पनि नमिलेको भन्दै भैरहवाका कतिपय बुद्धिजिविले सार्वजनिक रुपमै नगरपालिकाको आलोचना गरेका छन् ।
सीमा नाका बेलहियादेखि करिब डेढ किलोमिटर उत्तर गेट निर्माण सुरु गर्दा नै बेलहियावासी सहित स्थानीय अगुवाहरुले नगरपालिकाको उक्त कार्यको बिरोध गरेका थिए । भारतबाट नेपाल आउने पर्यटक एवम अन्य यात्रु समेतलाई झुक्याउने गरि निर्माण हुन लागेको गेट सीमा नाकामा बन्नु पर्ने उनीहरुको मागलाई नगरपालिकाले बेवास्ता गरेर आफुले रोजेको स्थानमा नै बनायो र हतार हतारमा त्यसलाई उद्घाटन समेत गरायो ।
ईन्जिनियर समेत रहेका भैरहवावासी रवि कुमार रौनियारले गेटको निर्माणमै प्राविधिक त्रुटि रहेको औल्याएका छन् ।
उनले गेटको आर्क निर्माणमा ठेकेदारले चरम लापारवाही गरेकोले नेपाल भित्रिने पर्यटकहरुमा नेपाल प्रति नै गलत सन्देश जाने चिन्ता ब्यक्त गरे । “हामीले पर्यटकलाई स्वागत गर्न बनाएको गेट भनेर बुझेका छौ बेलहिया नाका हुदै नेपाल छिर्ने पर्यटकहरुले त्यो टेढो र कुरुप गेट हेर्ने बित्तकै नेपालको कला र संस्कृति बारे उनिहरुमा नकारात्मक असर पर्न जान्छ ।” रौनियारले भने “जाबो एउटा आर्क मिलाउन नसक्ने कस्तो प्राविधिक होला ? जाबो एउटा आर्क मिलाउन नसक्ने कस्तो निर्माण ब्यवसायी होला ?”
रौनियारले गेटमा लागेको लागतबारे नगरपालिकाल गेटको वासलात सार्वजनिक गर्न आग्रह समेत गरे । उनले नगरवासीको मनमा रहेको दुविधालाई चिर्न नगरपालिकाले गेट निर्माणका क्रममा भएको वास्तविक खर्च सार्वजनिक नगरे उसले भ्रष्टाचार गरेको स्पष्ट हुने बताए ।
केही सिमित ब्यक्तिहरुलाई लाभ हुने गरि उनीहरुकै दबावमा नगरपालिकाले उक्त गेट बनाएको नगरवासीहरुको आरोप छ । जनता समाजवादी पार्टीका नेता समेत रहेको भैरहवावासी अर्जुन जयसवालले केही सिमित ब्यक्तिहरुको स्वार्थपूर्तिको लागी नगरपालिकाले गेट निर्माण भएको उद्घाटन कार्यक्रममै आरोप लगाएका थिए । उनले नगरपालिकाले गरिब तहका नगरवासीलाई हेपेर ठूला ब्यपारीका पक्षमा मात्र काम गरेको आरोप लगाए ।
अर्जुनको संकेत नजिकै निर्माण भएको लुम्बिनी एम्युजमेन्ट पार्क तर्फ थियो, जँहा नगर प्रमुख हरि प्रसाद अधिकारीको आफन्तहरुको लगानी रहेको छ । सुरुदेखी नै आफ्ना आफन्तलाइ फाईदा पुग्ने गरि उनले सीमा भन्दा करिब डेढ किलोमिटर टाढा गेट बनाएको आरोप लाग्दै आएको छ । २ चरणमा गरी ७ करोड ९ लाख २७ हजार ५ सय ५५ रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा प्रवेशद्वारको मुख्य संरचना २ करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँको लागतमा र दोस्रो चरणमा अर्किटेक्चरका कामहरू ४ करोड ४८ लाख ९३ हजार ९३ रुपैयाँ र कन्टिन्जेन्सी गरि ७ करोड बढीको लागतमा गेट निर्माण भएको हो ।
भ्रष्टाचार लुकाउन नगरपालिकाले हतारमा गेट उद्घाटन गरेको बताउदै नेपाली कांग्रेस सम्वद्ध जनप्रतिनिधिले घोषित रुपमै गेट उद्घाटन कार्यक्रम बहिष्कार गरेका थिए । नेपाली कांग्रेसका नगर सभापति कोशिश बहादुर खडकाले जनताले नचाहेको स्थानमा गेट नर्माण गरेको र निर्माण पुरा नभई नै हतारमा गेट उद्घाटन गरेकोले सो कार्यक्रम बहिष्कार गरेको जनाए ।
“हामीले यसलाई भ्रष्टाचार गेट भनेर नामाकरण गरेका छाँै, यसलाई अहिलेसम्म कुनै पनि नाम नदिएको र ४ करोडको बजेटलाई ७ करोड पु¥याईएको छ ।” कोशिशले भने “यसले कसलाई फाईदा गर्छ ? हेर्नुुस त चारै तर्फ फोहोर छ, कम्तिमा यसलाई सफा गरेर गर्न सकिन्थ्यो । यस्तो भ्रष्टाचारी काण्डमा हामी दुधको साक्षी बिरालो नबस्ने निर्णयको कारण गेट उद्घाटन कार्यक्रम बहिष्कार गरेका हौ ।” नेपाली कांग्रेस मात्र हैन सुरु देखी नै सीमामा गेट निर्माण नगरि अन्यत्र गरेको भन्दै बिरोध जनाउँदै आएका बेलहियावासीले समेत उक्त उद्घाटन कार्यक्रमको बहिष्कार गरेका थिए ।
यता सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले यसलाई राम्रो कामको सुरुवात भएको बताएका छन् । उनले गेट निर्माण भएको स्थानमा सडक घुमेकोले गर्दा गेटको आर्क नमिलेको दावी गरे । उनले अहिले पनि गेटको बिषयमा केही कुरा भए त्यसलाई बसेर नै छलफल गर्न सकिने बताए । साथै अधिकारीले गेट निर्माणमा लागेको खर्चबारे कसैलाई जान्ने ईच्छा भए नगरपालिकाको कार्यालयमा सम्पर्क गरि बुझ्न सक्ने बताए ।
“हामीले निकट भविष्यमै बेलहियामा प्रवेशद्वारको शिलान्यास हुदैछ ।” नगर प्रमुख अधिकारीले भने “अहिले डण्डा संगै जोडिएर हामीले पार्क बनाइरहेका छौं एक डेढ महिनामा यो पनि सम्पन्न हुन्छ ।” उनले केही कुरामा चित्त नबुझे सिधै नगरपालिकाका सम्पर्क राख्न आग्रह गरे । गेटलाई पारदर्शी रुपमा बनाईएको अधिकारीको दावी रहेको छ ।
प्रतिक्रिया