ताजा अपडेट »

कोभिड–१९ का कारण नियमित खोपमा कुनै समस्या छैन

आइतबार, १८ पुस २०७८

काठमाण्डौं । कोभिड–१९ का कारण नियमित तथा राष्ट्रिय खोप तालिकालाई असर नपरेको पाइएको छ । शिशु जन्मिनेबित्तिकै बीसीजी लगाइसकेपछि निश्चित हप्तापछि रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, एचआईबी, दादुरा, रुबेलालगायतका खोप लगाइन्छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक सरदर ८० शिशु जन्मिने गरेका छन् । तीमध्ये सरदर ६० जनाले नियमित खोप लगाउने गरेका छन् । अस्पतालका प्रवक्ता डा। कीर्तिपाल सुवेदीले बालबालिकालाई लगाउने गरिएका नियमित खोपमा कोरोना महामारीले कुनै प्रभाव नपरेको बताउँदै भने, “बीसीजी लगाइसकेपछि अन्य नियमित खोपका लागि कतिपय आमाले प्रसूति गृहमै ल्याउँछन् । कतिपयले नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यचौकीमा गएर नियमित खोप लगाउने गर्छन् । तर, नियमित खोपमा कुनै असर परेको छैन ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा: समीरकुमार अधिकारीले नियमित खोप देशभरि सहज रूपमा सञ्चालन भइरहेको बताए । उनले कोरोनाविरुद्धको खोपले नियमित खोपलाई असर नगरेको भन्दै नियमित खोपका लागि प्रणाली स्थापित भइसकेकाले कुनै प्रभाव नपरेको उल्लेख गरे।

एक वर्षमा २२ हजारभन्दा बढी बच्चालाई जन्म दिने गरिएको प्रसूति गृहका निर्देशक डा। अमिरबाबु श्रेष्ठले प्रसूति गृहमा नियमित खोप व्यवस्थित भएकाले कुनै असर नपर्ने बताए। “नियमित खोप लगाउने प्रणाली चुस्त र सहज छ,” उनले थपे, “कोरोनाविरुद्धको खोप अलग पक्ष भएकाले नियमित खोपलाई कुनै असर पार्दैन ।”

बीसीजीबाहेक नियमित खोप छ हप्तादेखि नौ महिनासम्म लगाइसक्नुपर्छ । दादुरा खोप नौ महिनामा पहिलो पटक लगाइन्छ । कतिपय खोपको बुस्टर डोजसमेत लगाउनुपर्ने हुन्छ । त्यसबाहेक कुनै खोप तीन वा पाँच वर्षमा लगाउनुपर्ने हुन्छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बन्दाबन्दीका बेला नियमित खोप सामान्य प्रभावित हुन पुगेको बताउँदै नियमित खोप कार्यक्रममा खासै समस्या नआएको बताए । छ हप्तामा रोटा भाइरसबाट हुने झाडापखालादेखि बचाउन रोटा खोप लगाइन्छ । पीसीभी निमोनिया र न्युमोकोकल रोगबाट बचाउन लगाइन्छ ।

एचआईबी खोप भ्यागुते रोग र लहरेखोकीबाट बचाउन लगाइन्छ । यसैगरी १० हप्तामा रोटा, १४ हप्तामा पोलियोको तेस्रो मात्रा, नौ महिनामा पीसीभी तेस्रो मात्रा र एमआर खोप लगाइन्छ । बच्चा जन्मेको १२ महिनामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाइन्छ । यस्तै, १५ महिनामा एमआर दोस्रो मात्रा खोप दादुरा र रुबेलाबाट बचाउनका लागि लगाइन्छ ।

खोप शाखा प्रमुख दाहालका अनुसार यी नियमित खोपबाहेक भिटाभिन ‘ए’, जुकाको औषधि र हात्तीपाइलेविरुद्धको औषधि खानेलगायतका राष्ट्रिय कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् । हाल देशभर १६ हजार खोप केन्द्रबाट नियमित खोप लगाउने गरिन्छ । बालबालिकाबाहेक गर्भवती आमालाई टिटानस खोप दुई पटक लगाउनुपर्छ ।-सरोज ढुङ्गेल /गोरखापत्र