ताजा अपडेट »

मिस्टर नेपालको अडिशन बुटवलमा हुँदै

बुधबार, ०६ कार्तिक २०७६


कार्तिक ६,
ग्लोबल आवाज
बुटवल । एक्सपोज नेपाल डटकमको आयोजननामा बुटवलमा राष्ट्रियस्तरको मिस्टर नेपाल २०१९ प्रतियोगिता हुन लागेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुर्याउने उद्देश्यले आयोजना हुने प्रतियोगिताको बुटवल अडिसन मंसिर १० गते हुने स्थानीय व्यवस्थापक प्रो सोल शेकर्सले जनाएको छ । प्रतियोगितामा प्लस टू उत्तिर्ण गरेका १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताका लागि आवेदन खुला भएको स्थानीय व्यवस्थापक संस्था प्रो सोल शेकर्सका सिईओ अमृत पौडेलले जानकारी दिए । अडिसनका लागि आवेदन डब्लुडब्लुडब्लु डट एक्सपोज नेपाल डटकमको वेबसाइट र एमआर डट नेपाल वल्र्डको फेसबुक पेजमा गएर अनलाइनबाट पनि फारम भर्न सकिने पौडेलले बताए । देशका विभिन्न मुख्य शहरहरुमा हुने अडिसनबाट छनोट भएका युवाहरुबीच काठमाडौंमा फाइनल प्रतिस्पर्धा गराइने छ ।

फाइनलअघि एक महिनाको प्रशिक्षण दिइने प्रतियोगिताको विजेता र उपविजेताले विभिन्न इन्टरनेशनल इभेन्टमा प्रतिनिधित्व गर्न पाउनुका साथै विभिन्न उपहार र पुरस्कारहरु प्राप्त गर्ने पौडेलले बताए । राष्ट्रियस्तरको यो प्रतियोगिताको अडिसनमा भाग लिन एक हजार रुपैयाँ आवेदन शुल्क लाग्ने उनले बताए । मिस्टर नेपाल २०१८ मा अक्षय रायमाझी विजयी भएका थिए भने उनले फिलिपिन्सको राजधानी मनिलामा हालै सम्पन्न भएको मिस्टर वल्र्ड २०१९ मा नेपालकोतर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । पत्रकार सम्मेलनको सञ्चालन आविष्कार पराजुलीले गरेका थिए ।