ताजा अपडेट »

२०२२ काे शुभकामना दिँदै ओलीले भने: २०२१ मा एमालेलाई जालझेलपूर्ण तरिकाले सरकारबाट हटाइयाे

शनिबार, १७ पुस २०७८

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम गरेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन्। नयाँ सन् २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको आरोप लगाए। अनुचित दुष्प्रयासहरुले अवरोध पुर्‍याएर थाती रहेकाे राष्ट्रिय समृद्धिकाे यात्रा नयाँ वर्षमा थप उचाइमा पुर्‍याउने उनले बताएका छन् ।

‘भर्खरै सन् २०२१ मा केही शक्तिहरुले मुलकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुफमा अलमल्याउने काम गरे। मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइयो’ ओलीले भनेका छन्, ‘संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागवण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भए। ‘

ओलीले २०२१ मा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको, चुच्चे नक्सा प्रकाशन गरेको, अर्थतन्त्रलाई माथि उठाएको, विकासका दूरगामी योजनाहरु थालनी गरेको उल्लेख गरेका छन्।