कार्तिक ६,
काठमाडौँ । लैङ्गिक विभेद र असमानताविरुद्धको आन्दोलन एक हदसम्म सफल भएको छ । तर कला, संस्कृति लगायतका क्षेत्रमा व्याप्त बिम्ब र प्रतिकले समानताका लागि अझै धेरै नै लड्नुपर्ने देखाउँछन् । यसको एउटा उदाहरण चराचुरुङ्गी र जनावर राखिने म्युजियमलाई लिन सकिन्छ । यो कुरा अनौठो लाग्ला । तर विभिन्न चराचुरुङ्गी र जनावरलाई सुरक्षितसाथ सजाएर राखिने संग्राहलयमा समेत लैङ्गिक विभेद छ ।
अर्थात् महिला मात्रै होइन, पोथी चरा र जनावार समेत विभेदमा परेका छन् । यो यथार्थलाई हालैको एक अध्ययनले समेत पुष्टि गर्छ । अनुसन्धानकर्ताको एक टोलीले विश्वका चर्चित ५ वटा संग्राहलयमा भाले र पोथीको अनुपात के कति छ भनेर अध्ययन गरेको थियो । उक्त अध्ययनबाट अधिकांश संग्राहलयमा भालेकै बाहुल्यता रहेको पत्ता लागेपछि अनुसन्धानकर्ता समेत चकित परेका थिए । अध्ययनमा लण्डनस्थित नेचरल हिस्ट्री म्युजियम, वाशिङ्टनस्थित स्मिथसोनियन नेशनल म्युजियम अफ नेचरल हिस्ट्री, सिकागोस्थित फिल्ड म्युजियम, न्युयोर्कस्थित अमेरिकन म्युजियम अफ नेचरल हिस्ट्री र फ्रान्सको नेशनल म्युजियम अफ नेचरल हिस्ट्रीलाई समेटिएको थियो । यी ५ वटा संग्राहलयमा सन् १७५१ देखि सन् २०१८ सम्म संकलन गरिएका विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावर हेर्दा अधिकांश भाले नै थिए । संग्राहलयमा राखिएका चराचुरुङ्गीमध्ये भाले चराको संख्या ६० प्रतिशत रहेको पाइएको थियो । जबकि पोथी चराको संख्या ४० प्रतिशत थियो ।
त्यस्तै संग्राहलयमा राखिएका स्तनधारी जनावरमध्ये ५२ भाले नै थिए । यता रिफेरेन्सका लागि राखिएका महत्वपूर्ण चरा र जनावरमा समेत भालेको संख्या नै हाबी थियो । रिफेरेन्सका लागि राखिएका चराचुरुङ्गीमध्ये पोथी चराको संख्या २७ प्रतिशत र स्तनधारी पोथीको संख्या ३९ प्रतिशत मात्रै थियो । भाले मयुरको सुन्दर पुच्छर, भाले हरिणको आकर्षक सिङ्ग वा भाले सिंहको लोभलाग्दो यालले मानिसको ध्यान तान्न सक्छ भनेर यस्तो गरिएको पनि हुन सक्छ । तर संग्राहलय जस्तो स्थानमा पोथी चरा वा जनावरको प्रतिनिधित्व कम हुनु भावी पुस्ताका लागि नराम्रो कुरा हो ।पोथीको प्रतिनिधित्व कम हुँदा विज्ञान र भावी वैज्ञानिक अनुसन्धानलाई नै अधुरो बनाउन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ । संग्राहलयमा पर्याप्त संख्यामा पोथीको प्रतिनिधित्व नहुँदा पोथीलाई कुन प्रजातिमा राख्ने भन्ने समस्या आउन सक्ने उनीहरुको गुनासो छ ।
प्रोसिडिङ अफ द रोयल साइन्स नामक जर्नलमा प्रकाशित एक आलेखमा भाले-पोथीको अनुपात समान गर्नुपर्ने उल्लेख गरिएको छ । यो विषयलाई तत्काल सम्बोधन नगरे भावी पुस्तालाई अन्याय हुने अनुसन्धानकर्ताको तर्क छ ।अनुसन्धानमा सहभागी डा. नाटाली कुपर भन्छिन्- ‘पहिलादेखि नै आकर्षक भुत्ला भएको भालु वा लोभलाग्दो सिङ्ग भएको जनावरलाई संकलन गर्ने प्रवृत्ति देखिन्छ ।’ झण्डै ३ सय वर्षसम्म संग्राहलयका लागि संकलन गरिएका नमूनामा पनि भालेलाई नै प्राथमिकतामा राख्नु गम्भीर कुरा भएको कुपरले बताइन् ।‘अचम्म लाग्दो कुरा के छ भने पहिलादेखिनै भाले जातिलाई नै जोड दिने प्रवृत्ति हाबी छ, यसमा कुनै परिवर्तन आएको छैन’, कुपरले भनिन्, ‘हालै संकलन गरिएका नमूनामा समेत यस्तै पूर्वाग्रह देखिन्छ ।’-डेलिमेलको सहयोगमा
प्रतिक्रिया