ताजा अपडेट »

नेपालगञ्जमा आईसीपी निर्माणमा ढिलाइ : १६ वर्षमा २० प्रतिशत काम

विहीबार, १५ पुस २०७८

नेपालगञ्ज । नेपालगञ्ज नाकामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी ९आईसीपी०को निर्माण कार्य १६ वर्षमा २० प्रतिशत मात्र भएको छ । सन् २००५ मा नेपाल भारत सरकारबीच एकै पटक विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आईसीपी निर्माणको सम्झौता गरिएको थियो । तर, विराटनगर र वीरगञ्जमा निर्माण पूरा भइसकेको छ भने नेपालगञ्जको आईसीपी निर्माणमा ढिलाइ भएको छ ।

नेपाल भारत सीमा नजिकै नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा आईसीपी निर्माणको काम भइरहेको हो । गत वर्ष दुई वर्षमा पूरा गर्ने गरी भारतको राजदीप कन्स्ट्रक्सन कम्पनीले एक अर्ब ४७ करोड भारतीय रुपियाँमा निर्माण ठेक्का लिएको थियो ।
ठेक्का अवधिको आधा समय बितिसक्दा पनि २० प्रतिशत मात्रै काम हुनुले उद्योगी व्यवसायीमा चिन्ता बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलबाहिद मन्सुरीले बताए ।

उहाँले आईसीपीको निर्माणसँग बाँकेका मात्र नभई समग्र पश्चिम नेपालका उद्योगी व्यवसायीको भविष्य र आशा गाँसिएको जनाउँदै पटकपटक दबाब दिए पनि कामले गति लिन नसकेको गुनासो गरे । १६ वर्षअघि भएको सम्झौताको कार्यान्वयन गत वर्षदेखि मात्रै सुरु भएको जनाउँदै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले त्यसयता पनि विभिन्न बहानामा काम सुस्त भएको बताए।

ठेकेदार कम्पनी राजदीप कन्स्ट्रक्सनका इन्जिनियर नितिन कुमारले अहिलेसम्म २० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोना महामारी र विभिन्न चाडपर्वले गर्दा काम पटकपटक रोकिए पनि दुई महिनायता तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण स्थलमा अहिले भवन लगायतका पूर्वाधार तयार भइरहेका छन् । उक्त स्थानमा दुई हजार दुई सय मिटर लम्बाइ र ६० मिटर चौडाइमा आईसीपीको एप्रोच रोड निर्माण भइरहेको छ ।

आईसीपी निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा ठेकेदार कम्पनीलाई कुनै राजस्व र भन्सार महसुल नलाग्ने दुई देशबीचको सहमतिअनुसार सामान ल्याउने काम निरन्तर भइरहेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । सो कार्यालयका इन्जिनियर होमनाथ भुसालले ठेकेदार कम्पनीलाई आवश्यक पर्ने स्थानीय स्तरको निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवामा आफूहरूले सहजीकरण गरिरहेको बताए ।-गोरखापत्र