ताजा अपडेट »

निर्माण सामग्रीबारे केडिया अर्गनाइजेशनद्वारा सचेतना अभियान

बुधबार, १४ पुस २०७८

रुपन्देही । निर्माण सामग्रीबारे जानकारी गराउने उद्देश्यले केडिया अर्गनाइजेसनले उपभोक्तामा सचेतना अभियान थालेको छ ।
घर बनाउन आवश्यक पर्ने सिमेन्टका प्रकार, उपयोग तरिका तथा गुणस्तरबारे उपभोक्तालाई सचेत बनाउन यो अभियान शुरु गरिएको हो । वृज सिमेन्ट उत्पादन गर्दै आएको केडिया अर्गनाइजेसनले काठमाडौँबाट शुरु गरेको अभियान अन्तर्गत रुपन्देहीमा वडा लक्षित गरेर कार्यक्रम गरिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३, तिलोत्तमा नगरपालिका वडा नं ६ र सिद्धार्थनगरपालिकाको वडा नं १२ मा अभियान सञ्चालन गरिएको बृज सिमेन्टका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरेर कार्यक्रम गरिएको पौडेलको भनाइ छ ।

अभियानमा आएका प्राविधिक टोलीसँग वडा कार्यालयमा नयाँ घर निर्माणका लागि आउने सेवाग्राहीले घर निर्माणमा कस्तो सिमेन्ट प्रयोग गर्ने, गुणस्तर कसरी थाहा पाउने, मात्रा कति राख्ने जस्ता विषयमा चासो राखेका थिए । “ हामीले घर बनाउने जिम्मा दिएपछि ठेकेदारले जे भन्यो त्यहीँ सिमेन्ट र सामग्री प्रयोग गर्छौ, गुणस्तरबारे ध्यान दिँदैनौ तर यो गलत रहेछ”, बुटवल १३ का स्थानीय चिरन बरालले भने ।

अभियानका क्रममा केडिया अर्गनाइजेसनका कर्मचारी तथा प्राविधिक टोलीले कम्पनीबाट उत्पादित ३ प्रकारका ओपिसि, पिपिसि र पिएससि सिमेन्टको बारेमा जानकारी दिनुका साथै यसको प्रयोगबारे उपभोक्तालाई सचेत गराएका थिए । “अभियानका क्रममा हामीले बृज सिमेन्ट नै लिनुस् भनेका छैनौ, तर, घर वा कुनै संरचना बनाउँदा सिमेन्टको गुणस्तर हेरेर प्रयोग गर्न उपभोक्तालाई सुझाव दिएका छौँ”, केडिया अर्गनाइजेसनका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले भने । बृज सिमेन्टको प्रचार मात्र नभई उपभोक्तालाई निर्माण सामग्रीबारे जानकारी गराउनु अभियानको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाइ छ ।

प्राविधिकका अनुसार घर निर्माणका ठूलो लगानी हुने भएकाले गुणस्तरमा ध्यान दिन आवश्यक छ । तर यसबारे सचेतनाको अभावले ठेकेदारले भनेकै भरमा भन्दा आफैले कुन सिमेन्टको गुणस्तर कस्तो छ भनेर जान्न आवश्यक रहेको सिभिल ईन्जिनियर सुमित बुढाथोकी बताउँछन् ।
बृज सिमेन्ट उद्योगले पिपिसी र ओपिसी र पिएससी गरि तीनवटा ब्राण्ड उत्पादन गरिरहेको छ । अहिले बृज सिमेन्ट उद्योगले दैनिक ५० हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएको छ । बजारको माग अनुसार उत्पादन गर्ने र पठाउने गरिएको सेल्स म्यानेजर पौडेलले जानकारी दिए ।