ताजा अपडेट »

सुरक्षित आप्रवासन परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रम बिच सहकार्यमा जोड

मंगलबार, १३ पुस २०७८

भैरहवा । बैदेशिक रोजगारीमा जाने र रोजगारीबाट नेपाल आउने नेपालीहरुलाई सूचना तथा परामर्श दिदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले रुपन्देहीका स्थानिय तहमा लागी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका रोजगार संयोजकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा सुरक्षिता आप्रवासन परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रम एवम रोजगार सेवा केन्द्र बीच सहकार्य गरि बेरोजगारीको समस्या न्यूनिकरण क्षेत्रमा काम गर्ने जनाएका छन् ।

कार्यक्रममा सहकार्यमा सामीको भूमिका, रोजगार संयोजक एवम रोजगार सेवा केन्द्रको भूमिका र साझा भुमिकाको बिषयमा छलफल गरिएको सामीको परियोजना संयोजक सीता पन्थले जानकारी दिईन । उनले सामी परियोजना लागु भएको पालिकाहरुमा रोजगार संयोजकहरुसंगको सहकार्यमा काम गरिदै आए पनि लागु नभएको पालिकामा पनि अब सहजता आउने बताईन । यसको लागी रोजगारीसंग सम्बन्धित दुवै पक्षले सहकार्यको वातावरण बनाउने उनले बताईन । आप्रवासी श्रोत केन्द्रले स्थानिय, प्रदेश र संघिय सरकार मार्फत संचालित रोजगार तथा स्वरोजगारका कार्यक्रमहरुको बारेमा सूचना संकलन गरि लक्षित सेवाग्राहीलाई जानकारी प्रदान गर्ने पन्थले जानकारी दिईन ।

“आप्रवासी श्रोत केन्द्रले स्वदेशमा रोजगार गर्न चाहने युवाहरुलाई थप जानकारी लिन र सुचिकृत हुनका लागी सम्बन्धित वडा तथा रोजगार केन्द्रमा सिफारीस गर्नेछ ।” पन्थले भनिन् “ यस्तै रोजगार सेवा केन्द्रले बैदेशिक रोजगारीमा जाने सम्भावित ब्यक्तिहरु आउदा उनिहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि सूचना, जानकारी तथा थप परामर्शको लागी आप्रवासी श्रोत केन्द्रमा पठाउने लगायतका बिषयमा सहकार्य गर्ने छलफल भएको छ ।”

रुपन्देहीका १६ वटै पालिकाका रोजगार संयोजकहरु सहभागी कार्यक्रममा बैदेशिक रोजगारको वर्तमान अवश्था तथा चुनौतीहरुबारे परियोजना संयोजकले जानकारी दिएकी थिईन । यस्तै संविधानमा बैदेशिक रोजगार सम्बन्धि भएको ब्यवस्था, रोजगारीको हक सम्बन्धि नियमावलीमा भएको आन्तरिक तथा बैदेशिक रोजगारका प्रावधान लगायतका बिषयमा सिद्धार्थनगर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनी तथा प्रधानमन्त्री रोजगार कार्यक्रम÷ रोजगार सेवा केन्द्रको परिचय, कार्यप्रणाली र गतिविधिहरुबारे सिद्धार्थनगर नगर पालिकाका रोजगार संयोजक बिष्णु अर्यालले स्पष्ट पारेको सामीकी लक्ष्मी गुप्ताले जानकारी दिईन् ।

सामी परियोजनाकोसंयोजक सीता पन्थ भण्डारीले रुपन्देहीको ४ वटा पालिकामा परियोजनाले काम गरिरहेको बताईन । जिल्लाको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगर पालिका, तिलोत्तमा नगरपालिका र कञ्चन गाउँपालिकामा परियोजनाले निशुल्क सूचना तथा परामर्श, मनोसामाजिक परामर्श, बित्तय साक्षरता, उद्दार तथा आकस्मिक सहयोग, न्यायको लागी निशुल्क कानूनी सहायता एवम निशुल्क सिप तालीमहरु प्रदान गरिरहेको पन्थको भनाई छ । भैरहवाको हकमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको आप्रवासन श्रोत केन्द्रबाट यी सेवाहरु प्राप्त गर्न सकिने उनले जानकारी दिईन ।