ताजा अपडेट »

बृहत खजुरा सम्मेलनको सम्पूर्ण तयारी पूरा, मुख्यमन्त्री उद्घाटन गर्ने

मंगलबार, ०५ कार्तिक २०७६

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा भोलीदेखि सुरु हुने बृहत खजुरा सम्मेलनको तयारी पूरा भएको छ। गाउँपालिकाको आयोजनामा ज्ञानोदय नमूना माविमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सम्मेलनका लागि विभिन्न क्षेत्रका विषयविज्ञहरु सम्मेलनस्थल आइपुगेको आयोजकले जानकारी दिएको छ।

खजुरा गाउँपालिकाका शिक्षाविज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा निर्माण गरिएको बहृत खजुरा विकास सम्मेलन व्यवस्थापन समितिले भोलीका लागी आवश्यक सम्पूर्ण तयारीलाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ। भोली बुधबार विहान ११ बजे प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि मुख्यमन्त्री पोखरेल नेपालगन्ज पुगेका छन्।खजुरा समृद्धिको आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न, गाउँपालिकाको योजना निर्माणका लागि खजुरा क्षेत्रका विषयविज्ञ, प्राज्ञिक, सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा खजुरा क्षेत्रका तथा खजुरामा स्थायी बसोबास रही कामको सिलसिलामा बाहिर रहेका २५० जना बढीको सहभागिता रहने जनाइएको छ।सम्मेलनमा विषयविज्ञहरुले तयार पारेको विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र त्यसमाथि टिप्पणी हुनेछ। त्यस्तै हरेक कार्यपत्रको अध्यक्षता फरक फरक व्यक्तिले गर्ने र कार्यपत्रमाथि छलफलसहित पारित गरिने छ। बाँकेको खजुरामा पहिलो पटक हुन लागेको सम्मेलनमा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट सङ्घीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषयविज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागिता हुने जनाइएको छ।