कार्तिक ५,
ताप्लेजुङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपि शर्मा ओलि र आफूबीच कुनै असमझदारी नरहेको दाबी गरेका छन् । कार्यकर्ता प्रशिक्षणकालागि पाँचथर सदरमुकाम फिदिम आएका दाहालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मीडियामा आएजस्तो कुनै असमझदारी नरहेकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे । उनले हिजो मात्रै प्रधानमन्त्री र आफूबीच दुई घण्टासम्म बसेर छलफल भएको पनि प्रष्ट्याए । मन्त्रीमण्डल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उनले चाहेकोबेला परिवर्तन हुने दाहालले प्रष्ट पारे ।
वर्तमान सरकारले छिमेक देशहरुसँगको सम्बन्ध मजबुत बनाउँदै लगेको दाबी गर्दै दाहालले यसको उदाहरण चिनका राष्ट्रपतिको भ्रमण र भारतको अमलेखगञ्ज पेट्रोललाइन विस्तार भएको दाबी गरे । २५ वर्षपछि चीनका राष्ट्रपति सि चिनफिङको सफल भ्रमण हुनु र भारतबाट नेपालमा सिधै पेट्रोललाइन विस्तार हुनुले दुई देशको सम्बन्धलाइ थप राम्रो बनाएको दाहालको दाबी छ । सत्ता र प्रतिपक्षबीच पनि कुनै असमझदारी नरहेको प्रष्ट्याउँदै दाहालले शान्ति प्रकृयाको काम टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् । सत्ता र प्रतिपक्षका बीचमा समझदारीका साथ मुद्दाहरु टुंगिने दाहालले बताए । उनले सरकार अब समृद्धिको दिशामा अघि बढेको बताए । प्रशिक्षणकालागि महासचिव विष्णु पौडेल र सचिवालय सदस्य सुवास नेम्वाङ पनि फिदिम आएका छन् । प्रशिक्षणकालागि ताप्लेजुङ जिल्लाका पार्टी नेताहरु फिदिम पुगेका छन् । स्थानिय तहमा हुनलागेको उपनिर्वाचनका विषयमापनि छलफल हुने नेकपा नेताहरुले बताएका छन् । पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुइ वडाध्यक्ष पदकालागि निर्वाचन हुँदैछ । -कान्तिपुर
प्रतिक्रिया