बढ्दो उमेर संगसंगै मनुष्यको जोश,जाँगर,क्षमता,सामथ्र्यता र सोचन शक्ति बढ्दै, तिखारिँदै जान्छ तर, निश्चित उमेर पश्चात् ती सबै बिस्तारै घट्दै जान्छ। यो प्रकृतिको नियम हो। सबैमा अनिवार्य लागू हुन्छ। घर–परिवार,संगठन र राजनीतिक दलको प्रभावकारीता, सशक्तिकरण र सूसंचालनको निमित्त प्रकृतिको त्यो शाश्वत नियमलाई स्वतस्फूर्त आत्मसात् गर्नु पर्दछ। व्यवहारमा उतार्नु पर्दछ। वास्ता नगर्ने र चूनौती दिने कार्य गर्नु हुँदैन।
पुस्तान्तरणको विषय केही समयदेखि मुलुकको राजनीतिमा निरन्तर चर्चामा रहेको सर्वविदित नै छ।त्यसप्रति हाम्रा नेताहरूको भीष्म प्रतिज्ञा जस्तै लाग्ने प्रतिवद्धता र अडान तर, अन्तिमसमयमा हुने जिब्रो परिवर्तन,विचलन र डीरेलको स्वभावले गर्दा पुस्तान्तरण वहसको विषय हो वा अपरिहार्य हो ठ्याक्क भन्न कठिन छ। समय परिस्थिति र स्थानानुसार नेताहरूको बदलिँदो अभिव्यक्तिको कारण पुस्तान्तरण मात्र वहसको विषय हो कि भन्ने भ्रम जनतामा परेको छ। त्यो नेताहरूको धु्रत्याइँ मात्र हो। वास्तवमा पुस्तान्तरण अनिवार्य कार्यान्वयनको विषय हो।
नेपाली कांग्रेस माथी मात्र होइन् मै हूँ भन्ने वामपक्षी लगायतका नेताहरू र तिनीहरूको दल माथि पनि वेलावखत धारिलो आरोप लाग्ने गरेको छ तथापि नेपाली कांग्रेस पुरानो पार्टी हो।कार्यकर्ताहरूमा मात्र आधारित होइन जनतामा आधारित जनताको सामूहिक पार्टी हो। मुलुकमा प्रजातन्त्रको धरातल खडा गर्ने ऐतिहासिक पार्टी हो। प्रजातन्त्रको जगलाई भत्काउन नसक्ने गरि दरो बनाउन कार्यगत एकता गरेर तथा गठबन्धनमा सामेल भएर पनि वामपन्थीहरूलाई प्रजातन्त्रको छाता मुनि उभ्याउने सफल पार्टी हो। जनयुद्धबाट माओवादीहरूलाई सुरक्षित अवतरण गराउन,प्रजातन्त्रको मूलधारमा समाहित गराउन वृहत शान्ति समझौताको नेतृत्व र प्रमुख हस्ताक्षरकर्ता नेपाली कांग्रेस हो भनिरहनु पर्ने आवश्यक छैन ।किनकी यो सर्व छर्लङ्ग राजनीतिक सत्य हो।
राजनीति स्वार्थ,षडयन्त्र,विचलन र छलको होइन सिद्धान्त र विचारको हुनु पर्दछ।आदर्शपरक हुनु पर्दछ। तर मूलतःकेही नेता,उप नेता,सहायक नेतागणका लागि राजनीति अन्ततः मात्र आडम्बर हो।नेताहरूले धेरै पटक पुष्टि गरिसकेका छन्। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा पुस्तान्तरणको एजेण्डामा केही वरिष्ठ युवा नेताहरू बाट अन्तिम चरणमा यस्तै भएको थियो । पुस्तान्तरणको पक्षमा दृढतापूर्वक सशक्त ढंगमा लागि परेका,सदैव समझदारी सहमतिलाई जोड दिइरहने केही वरिष्ठ युवा नेताहरूको,सभापतिको दोस्रो चरणको निर्वाचनमा, यू टर्नले युवाहरूमा आशंका,अविश्वास,हतोत्साह र निराशा उब्जाई दिएको छ ।
तर, निराशालाई चिर्दै केहि सशक्त,आसलाग्दो,चर्चित युवाहरू ती विचलनकर्ता ढोँगी नेताहरूलाई चड्कन दिन सफल रहेको स्पष्ट देखियो। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा भएको निर्वाचनमा विभिन्न तहमा निर्वाचित हुनेहरूको उमेर,जोश,जाँगर र ऊमङ्ग लाई हेर्दा पुस्तान्तरणको तल्लो तहदेखि माथिल्लो तह (Grassroot level to Upper level) को मान्यतालाई अनिवार्य कार्यान्वयनतर्फ उद्दत रहेको संकेत देखियो। पुस्तान्तरणको दृष्टिले चौधौं महाधिवेशन ऐतिहासिक रह्यो।
आगामी दिनहरूमा पुस्तान्तरणको सवालमा पार्टी भित्र कठिन मन्थन हुनेछ। मन्थनको नतीजा जे पनि हुन सक्छ। तथापि राजनीतिक गतिशिलता (Political Dynamism) को लागि पुस्तान्तरण अपरिहार्य छ। तसर्थ पुराना र नयाँ पुस्ता बीच अहंकार भ्नय होइन समन्वय (Coordination) को खाँचो छ। यही नै हो पार्टी सशक्तिकरण र सशक्त राजनीतिको मुख्य कुन्जी ।
प्रतिक्रिया