ताजा अपडेट »

फ्रान्समा २४ घन्टाभित्र भेटिए १ लाख भन्दा बढी कोरोना संक्रमित, सबै नाइट क्लब बन्द

सोमबार, १२ पुस २०७८

काठमाडौँ । फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ संक्रमित भए भने शनिबार यसै भाइरसका कारण ८४ मानिसको मृत्यु भएको थियो । युरोपमा बेलायतपछि फ्रान्समा ओमिक्रोन संक्रमितको संख्या बढी देखिएको छ । यसका कारण १६ हजार मानिस अस्पतालमा भर्ती भएका छन् ।

राष्ट्रपति इम्याानुुयल म्याक्रोँ र उनका मन्त्रीहरु सोमबार एक भिडियो सम्मेलन गर्ने तयारीमा जुटेका छन् । यो मिटिङमा नयाँ कोभिड सुरक्षा उपायको बारेमा कुराकानी गरिने भएको छ । ओमिक्रोनले जसरी यूरोपका अन्य देशहरुमा होहल्ला मच्चाएको छ, त्यसरी नै फ्रान्सका स्वास्थ्य अधिकारी धेरै चिन्तित देखिएका छन् ।

नाइट क्लब बन्द गरियो, आतिशबाजी कार्यक्रममा रोक

शुक्रबार स्वास्थ्य अधिकारीले वयस्कलाई कोरोनाको दुबै डोज लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन आग्रह गरेका छन् । फ्रान्समा हालसम्म १ लाख २२ हजार ५४६ मानिसको मृत्यु भइसकेको छ । यसैगरी ७६.५ प्रतिशतलाई पूर्ण रुपमा खोप लगाइसकिएको छ ।

हाल फ्रान्समा कोरोनाको पाँचौ लहर चलिरहेको छ । भाइरसको विस्तारको गती रोक्न नाइट क्लब बन्द गरिएको छ । नयाँ वर्षमा आतिशबाजीको कार्यक्रममा पनि रोक लगाइएको छ । स्वास्थ्य मन्त्री ओलिभियन वेरेनले आफूहरुले बूस्टर डोजमा जोड दिएको बताएका छन् ।

बेलायतमा सरदर दैनिक १ लाख संक्रमित, अमेरिकामा ४५ प्रतिशतको वृद्धि

बेलायत र अमेरिकामा ओमिक्रोन संक्रमितको आंकडा तीव्र दरमा बढिरहेको छ । बेलायतमा गत साताबाट कोरोनाको औसत १ लाख संक्रमित फेला परिरहेका छन् । यसैगरी अमेरिकामा कोरोना संक्रमितको आंकडा ४५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा संक्रमितको आंकडा १.७९ लाख प्रतिदिन पुुगेको छ  । कोरोनाकै कारण अर्को वर्ष पनि क्रिसमसको पर्व अलिनो भएको छ । ओमिक्रानका कारण खतरमा २ गुणाले वृद्धि भएको छ । मानिस नत पहिलेको जस्तो खुलेर किनमेल गर्न पाएका छन् तन घरबाट बाहिर निक्लिएर खुसीनै मनाउन पाएका छन् ।-एजेन्सी