ताजा अपडेट »

भैरहवामा ७ करोड बढीको पर्यटकीय द्वार

आइतबार, ११ पुस २०७८

भैरहवा । भैरहवामा ७ करोड बढिको लागतमा पर्यटकिय गेट बनेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको बुद्धत्व झल्कने किसिमले गेट निर्माण गरिएको छ ।

सिमाबाट करिब डेढ किलोमिटर टाढा बनेको स्वागत गेट २ चरणमा निर्माण सम्पन्न गर्ने गरी ७ करोड ९ लाख २७ हजार ५ सय ५५ रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको सिद्धार्थनगर नगर पालिकाक वरिष्ठ इन्जिनियर जीवन अर्यालले बताए । पहिलो चरणमा प्रवेशद्वारको मुख्य संरचना २ करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँको लागतमा र दोस्रो चरणमा अर्किटेक्चरका कामहरू ४ करोड ४८ लाख ९३ हजार ९३ रुपैयाँ र कन्टिन्जेन्सी गरि ७ करोड बढीको लागतमा गेट निर्माण भएको हो ।

२०७५ असार २५ गते सम्झौता भई निर्माण सुरु भएको थियो । नेपालको चिनारीसहितको प्रवेशद्वारमा स्वयम्भूका आँखासहितको हर्मिका गजुर, स्तुपा आकार दर्शाउनका लागि डोम, बुद्धमा १३ वटा को महत्व रहेकोले त्रयोदस भुवन दर्शाउनका लागि १३ वटा रिङ, त्यस्तै १२ वटा बुद्धका मूर्तिहरू प्रवेशद्वारको दुवैतर्फ रहेको वरिष्ठ इन्जिनियर अर्यालले जानकारी दिए । बौद्ध विज्ञहरूको सल्लाहमा चारै दिशामा १० वटा बुद्धको मूर्ति , आर्च, स्पायर गजूर, हरियाली जोन, बुद्ध झण्डाले प्रवेशद्वार सिंगारिएको छ ।

द्वार ५० मिटर लम्बाई, २४ मीटर चौडाई तथा सडकदेखि ३० मीटर उचाईको रहेको छ । बुटवल भैरहवा सडकको ४ लेन र सर्भिस लेनलाई विना अवरोध हुने गरी बनाइएको छ । प्रवशेद्वारमा भित्री भागबाट ४ लेन सडकको सवारीसाधान आवगमन हुनेछ भने सर्भिस रोडलाई गेटको दुवैतर्फबाट आवगमन हुने गरी निर्माण भएको छ ।

प्रवेशद्वारलाई रातिमा आकर्षक बनाउनका लागि आर्कमा वार्म लाइटको प्रयोग भएको छ, त्यस्तै शान्ति र शून्यता जनाउनका लागि गेटमा झयाल जस्तो वारपार प्वाल वनाइएको छ । आज एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर ३ क सांसद एवम नेकपा एमालेका नेता घनश्याम भुसालले उदघाटन गरेका छन । सिद्धार्थनगर नगर पालिकाद्वारा आयोजित उदघाटन कार्यक्रममा बोल्दै भुसालले यो योजना जस्तै अन्य योजनाहरु पनि यहि तदारुकताका साथ बनाउनको लागि सिक्नु पर्ने बताए ।

उनले भैरहवा नेपालकै प्रवेशद्वार भएकोले नगरपालिक सभ्य, बिकसित, सुसुचित हुनु पर्ने बताए । उनले भैरहवाको प्रतिस्ठासित जोडिएकोले भैरहवाले यसबारे ख्याल राख्नु पर्ने जिकिर गरे । उनले भैरहवाले सडक निर्माण, शिक्षा र स्वास्थ्यमा नगरपालिकाले उल्लेखनीय काम गरेको उनको भनाइ छ । सिद्धार्थनगरलाई पर्यटकीय हबका रूपमा विकसित गर्न र एक दिनमै फर्किने पर्यटकहरूलाई नेपाल प्रवेशको अनुभूति दिई रात बिताउने र पर्यटन क्षेत्र चलायमानमा सहयोग पुग्ने आशाका साथ प्रवेशद्वार बनाइएको छ ।