ताजा अपडेट »

अब उधारो सम्झौता मान्दैनौं : अध्यक्ष ठाकुर

शनिबार, १० पुस २०७८

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनाव केन्द्रित गतिविधि बढाएको छ । जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्त ठाकुरको अध्यक्षतामा गठन भएको लोसपाले जिल्लामा आफ्नो सक्रियता बढाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, रुपन्देहीको आयोजनामा रुपन्देहीको सेमरीमा बृहत पार्टी प्रवेश तथा आमसभा सम्पन्न गरेको छ । सभालाई पार्टीका केन्द्रिय अध्यक्ष महन्त ठाकुर, केन्द्रिय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ल, वरिष्ठ नेता शरद सिंह भण्डारी, केन्द्रिय सदस्य निलम यादव लगायतले सम्बोधन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका केन्द्रिय अध्यक्ष महन्त सिंह ठाकुरले मधेशको मुद्दाको मामिलामा अब आश्वासनले मात्र नभई सम्बोधन गरेर नै देखाए मात्र मान्य हुने बताएका छन् । “अब चेकले काम चल्दैन, अब गरेर देखाउनुस ।” ठाकुरले भने “ लेखाईमा त शुसिल कोइराला संग पनि सम्झौता भयो, ओलीजी संग पनि सम्झौता भयो, देउवाजी जति पटक प्रधानमन्त्री भए त्यति पटक सम्झौता भयो, तर सम्झौता कार्यान्वयन भएन ।”

ठाकुरले जतिवटा सरकार गठन हुन्छ त्यति नै पटक मधेशका मुद्दाहरुको बिषयमा सम्झौता भए पनि कार्यान्वयन भने अहिले सम्म पनि नभएको गुनासो सुनाए । मधेश आन्दोलनका क्रममा बन्द भएका मधेशीलाई रिहा, उनिहरुमाथिको मुद्दा फिर्ता र ज्यादतीहरुको बारेमा छानविन गर्न आयोगको गठनलाई पार्टीले उठाउदै आएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै ठाकुरले संविधानले दिएको अधिकारमा पनि मधेशीहरुलाई छेकवार लगाईएको बताए । उनले संविधानमा स्पष्ट रुपमा नागरिकताबारे उल्लेख भए पनि अहिले पनि लाखौ मधेशी युवायुवती नागरिकबाट वञ्चित गरिएको गुनासो सुनाए । ठाकुरले मधेशीहरुमाथी सुरुदेखी नै बिभेद हुदै आएको र बिभेदले कहिल्यै पनि एकता स्थापित गर्न नसक्ने जिकिर गरे ।

यस्तै पार्टीका वरिष्ठ नेता शरद सिंह भण्डारीले मधेशीहरु अहिले पहिचान, स्वाभिमान र आत्मसम्मानको लागी लडिरहेको बताए । उनले अहिले पनि समानुपातिक रुपमा मधेशीहरुको प्रतिनिधित्व नभएको बताउदै अब लोसपा ३क को सिद्धान्तमा अगाडी बढेको बताए । कानूनमा पहुच, बिकासमा बिभेद भएकोले कोषमा पहुँच एवम कारतुस (शक्ति) मा पहुँचको लागी लोसपालाई अगाडी ल्याउन उनले आग्रह गरे ।

रुपन्देहीका नेता एवम लोसपाका केन्द्रिय कार्यकारीणी सदस्य सर्वेन्द्रनाथ शुक्लले नयाँ संसद नआए सम्म देशमा रहेको यो अन्यौलता रहिरहने दावी गर्दै उनले न्यायपालिका, कार्यपालिका र बिधायिकामा रहेको समस्या समाधान गर्न पार्टीको माग रहेको बताए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तर्फ इंगित गर्दै शुक्लले मधेशका मुद्दाहरु समाधान हुने समयमा “जयचन्द”ले भाँजो हालेको आरोप लगाए । “यस्ता जयचन्दबाट तपाईहरु होशियार रहनुपर्ने आवश्यकता छ, जसले एउटा पनि ईट्टा थप्ने कार्य गरेको छैन तर बारुद लगाएर पुरै पर्खाल भत्काउन खाजेको छ ।” शुक्लले भने “यस्ता जयचन्दबाट स्थानिय चुनाव, प्रदेश चुनाव र संघिय चुनावमा पनि होशियार रहनुहोला ।”

कार्यक्रममा बिभिन्न बार्टी छोडेर ७ सय बढी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका रुपन्देही प्रवक्ता मोहम्मद ईस्लामले जानकारी दिए ।