कार्तिक ५,
जुम्ला । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ। विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।
आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव २०७५/७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको उनले जानकारी दिए। उनले भने, 'दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब रु १७ करोड आम्दानी बढी भएको छ।' पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ। जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्। स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले रु चार देखि रु छ लाख बराबर कमाएका छन्। तिला गाउँपालिका-१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब रु दुईदेखि रु चार लाख कमाएको जानकारी दिए।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ। स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ। जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो। असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ। सोबाट रु ३४ करोड जुम्ला भित्रिएको छ। जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४३५ हेक्टर छ। त्यसको तीन हजार ७०० हेक्टर जमीनमा गरिएको स्याउखेतीमध्ये एक हजार ४४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो । सरदर रुपमा प्रतिकिसानले ८.२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन्। व्यापारीले बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरेका थिए। -रासस
प्रतिक्रिया