कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारको कपिलवस्तु र नवलपरासीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णयले सेवाग्राहीले सहजता महशुस गरेका थिए ।
कपिलवस्तु जिल्लामा स्थापना हुने कार्यालयले अर्घाखाँची र कपिलवस्तु दुबै जिल्लालाई लक्षित गरिएको थियो । निर्णयसँगै दुबै जिल्लाका नागरिकले सामाजिक सँजालमा पायक पर्ने गरी राख्न अनुरोध गरिएको थियो । सोही अनुसार केहीले कपिलवस्तुका राजमार्ग क्षेत्र र अर्घाखाँचीका जनताले बुद्धभूमि नगरपालिका र कपिलवस्तुका दक्षिणी भेगका जनताले जिल्ला सदरमुकाम तौलिहवामा राख्ने गरी आवाज व्यक्त गरेका थिए ।
चर्चा चलेसँगै बुद्धभूमि नगरपालिकाले भवनसहितको जग्गा व्यवस्थापन गर्ने भन्दै मन्त्रालयसँग अन्तरक्रिया गर्यो । दुबै जिल्लालाई सहज हुने भन्दै गरिएको अन्तरक्रियामा मन्त्रालयका सचिव दीपक राज नेपालले तौलिहवामा स्थापना गर्ने निर्णय भएको कुरा सुनाएपछि अन्तरक्रियाका सहभागी जिल्ल बनेका छन् । तौलिहवाबाट पटक-पटक डेलिकेशन गएपछि कार्यालयको विषयमा निर्णय भएको सुनाइएको छ ।
लुम्बिनी प्रदेश सरकारलाई सहभागिहरुले निर्णय सच्याउन आग्रह गरेका छन् । दुबै जिल्लाका जनप्रतिनिधिसँग छलफल गरी पायक पर्ने ठाउँमा कार्यालय खोल्न दबाव दिएका छन् । अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीलाई सहज गराउने गरि स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको थियो । मन्त्री पुर्मती ढेगा मगरले कार्यालयको स्थान परिवर्तन गर्न सकिने प्रतिबद्धता जाहेर गरेकी छन् । प्रदेश सरकारले सबै क्षेत्रको भावना समेट्ने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपक राज नेपालले सेवा कार्यालयबाट सवारी दर्ता बुक नविकरण (ब्लु बुक), सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नविकरण र अस्थायी इजाजत पत्र (पटके)को काम हुने बताए । पछि लाइसेन्सको ट्रायल सेन्टर समेत खोलिने नेपालले स्पष्ट पारेका पारेका छन् ।
बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठले दुबै जिल्लाको साझा स्थल बुद्धभूमि-२ गोरुसिंगे रहेकोले पायक पर्ने स्थानमा कार्यालय संचालन गर्नु पर्ने बताए । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो ।
कार्यक्रममा बोल्दै जनता समाजवादी दलका केन्द्रीय सदस्य नारायण प्रसाद खनालले अर्घाखाँची क्षेत्रका जनताको मनोभावना बुझी सबैलाई सजिलो हुने स्थानमा कार्यालय खोल्न प्रदेश सरकारसँग माग गरेका छन् । दुई जिल्लाको लागि तौलिहवा पायक नहुने भन्दै गोरुसिंगे बाहेक अन्य विकल्प नभएको बताए । कार्यालयको विषयमा अन्तरक्रिया राख्न जसपा केन्द्रीय समितिका सल्लाहकार विष्णुहरी शर्माले समन्वय गरेका थिए ।
प्रतिक्रिया