ताजा अपडेट »

‘सभ्य समाजका लागि मदिरा बाधक,नियन्त्रण आवश्यक’

शुक्रबार, ०९ पुस २०७८

रुपन्देही । सरकारले उचित नीति नियम बनाएर मदिराको नियमन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा बिहीबार बुटवलमा भएको ‘मदिराका नकारात्मक असर र नियमनको आवश्यकता’ विषयक सचेतना कार्यक्रममा बोल्ने सरोकारवालाले सार्वजनिक स्थानमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउन माग गरे ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकारले छुट्टै ऐन बनाएर मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने तयारी गरेको बताए । “कानून विवेकहीनताको अवस्थाको लागि हो, सभ्य समाजमा कानूनको आवश्यकता हुँदैन, हामी सबै मिलेर सभ्य समाज निर्माण गर्नु छ”, उनले भने ।

मन्त्री थारुले नेता कर्मचारीलाई फकाउन र भोट पाउन रक्सीको प्रयोग भएको भन्दै यो प्रचलन विरुद्ध सचेतना आवश्यक रहेकोमा जोड दिए।
विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि हरि भुसालले मदिरको नियन्त्रण र व्यवस्थापनका लागि संयक्त राष्ट्रसंघले अन्तरराष्ट्रिय रणनीति बनाई सकेको जानकारी गराउँदै नेपाल पनि सदस्य राष्ट्र भएकाले प्रभावकारी कार्यान्वयनको लागि ऐन, नियम बनाउन यो कार्यक्रमले पृष्ठपोषणको काम गर्ने धारणा राखे । प्रतिनिधि भुसालले लुम्बिनी प्रदेशमा ७४ प्रतिशतले मदिरा सेवन गरेको भन्दै उत्पादक जनशक्तिमा नराम्रो लत बस्न थालेकाले सबै सचेत हुनुपर्ने अवस्था आएको बताए।

कार्यक्रममा कमला ब्रम्हकुमारीले मदिरा प्रयोग बढ्दै जाँदा समाजमा विकृती समेत बढ्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिइन्। “हामीले यो विषयमा काम गरिरहेका थियौ, यस अभियानमा हामीलाई पनि जोड्नु भएकाले खुसी लागेको छ । सबैले मदिरा उपभोग नगर्न सङ्कल्प गर्नुपर्छ ”, उनले भनिन् ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च केन्द्रीय उपाध्यक्ष केशव शर्माले उपभोक्ता हित र संरक्षण सम्बन्धी बनेका ऐन कानुन र निर्देशिका सम्बन्धमा र प्रदेश सल्लाहकार प्रमुख डिआर घिमिरेले मदिराको हानि र नियन्त्रणको विषयमा कार्यपत्र प्रस्तुत गर्दै मदिराको निषेध सम्भव नभए पनि साँस्कारिक मूल्यमाथि निषेध नगरी उपभोगमा न्यूनीकरण गर्नुपर्ने बताए ।

मदिरा व्यवसायी सङ्घका अध्यक्ष बाबुराम ज्ञवाली सरकारले बनाएका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गरेको बताउँदै व्यवसायी नै विस्थापित हुने तरिकाले भने नीति बनाउन नहुने धारणा राखे ।

कार्यक्रममा प्राध्यापकद्धय मुकुन्द पोखरेल, दिनेश पन्थी, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, उद्योग संघका अध्यक्ष माधव पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले समाजमा शान्ति सुव्यवस्था कायम गर्न मदिराको नियन्त्रण र नियमन आवश्यक रहेको बताए ।
उपोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले मदिराको नियन्त्रण आवश्यक रहेको बताउँदै यसका लागि जथाभावी दिइने विज्ञापन बन्द गर्नुपर्ने धारणा राखे ।

लेखक ऋषि आजादले मन्दिर, विद्यालय तथा सार्वजनिक स्थान परिसरमा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउनुपर्ने बताए।
मञ्चका सचिव दुर्गा गौतमले प्रदेशमा निश्चित मापदण्ड तय गरेर मदिराको नियन्त्रण गर्न सके समाजका विकृती र विसंगती कम हुँदै जाने धारणा राखे ।-रासस