बुटवल । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।
मेला उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले आर्थिक बिकास र समृद्धिका लागि सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । बुटवल लगानी केन्द्रको रुपमा बिकिसित हुँदै गएको दाबी गर्दै उनले विश्व बैंकको सूचकांकले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सुचिकृत भएको उल्लेख गरे । सुवेदीले बुटवलमा आउँदो तीन वर्षमा साढे ६ अर्ब रुपैया लगानी हुने सुनिश्चित भइसकेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक बिकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पूँजिमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले बुटवलका मुख्य ४ वटा व्यवासयिक संघ–संस्था मध्ये उद्योग ब्यापार संघ कान्छो भएपनि जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा अरु पुराना संस्थाभन्दा कम नभएको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारले भेदभाव र पक्षपात गर्नए नहुने र गरेमा स्वीकार्य नहुने बताए ।
मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै मेलामा उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यान दिन सुझाव दिए ।
पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन् । मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । मेला उद्घाटन अघि ३४ वटा संघसंस्थाको सहभागितामा देवीनगर चौपारीबाट मेलास्थलसम्म झांकीसहितको र्याली निकालिएको थियो । मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, निःशुल्क दन्त शिविर, रक्तदान, लोक दोहोरी गायन लगायतका आकर्षण रहेका छन् ।
प्रतिक्रिया