ताजा अपडेट »

बार्षिकोत्सवमा हिमचुलीद्वारा पौष्टिक आहार तथा फलफूल वितरण

विहीबार, ०८ पुस २०७८

भैरहवा । स्थापना दिवसको अवसर पारेर भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीम अस्पतालका बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरेको छ ।

संस्थाले बिहीबार एक कार्यक्रमका बीच अस्पतालमा पुगेर पौष्टिक आहार तथा फलफूल वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले स्थापना दिवसको अवसर पारेर संस्थाले अस्पताललाई रोजेको भन्दै धन्यवाद दिए । उनले अस्पतालले क्रमशः सेवा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएको बताए ।

अध्यक्ष भण्डारीले कोभिड–१९ महामारीमा यस क्षेत्रका विभिन्न संघ–संस्थाले अस्पताललाई सहयोग गरेर अतुलनीय योगदान पुर्याएको बताए ।हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्तकुमार लाल कर्णले २०६४ सालमा २६ जनाले ५/५ हजार उठाएर स्थापना भएको संस्था यहाँ सम्म पुगेको बताए । उनले संस्थामा हाल ८ सय ७२ जना शेयर सदस्य रहेको जानकारी दिए । अध्यक्ष कर्णले भीम अस्पताललाई आगामी दिनमा पनि केही न केही सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

सहकारीका उपाध्यक्ष बेचन प्रसाद गुप्ताको स्वागत तथा सचिव दीपक घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अस्पतालमा उपचाररत ५० जना बढी बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरिएको सहकारीका व्यवस्थापक धर्मेन्द्र कोहारले बताए ।