ताजा अपडेट »

‘बैदेशिक रोजगारीमा मृत्यु भएकाको आश्रित बालबालिकालाई राहत पाउनै गाह्रो’

बुधबार, ०७ पुस २०७८

भैरहवा । परिवारको उज्वल भविष्यमा सपना बुनेर बैदेशिक रोजगारीमा गएका अभिभावकको बालबालिकालाई उनिहरुको मृत्यु पछि वा अङ्गभङ्ग भएको अवश्थामामा छात्रवृत्ति पाउनै अप्ठ्यारो रहेको छ । अझ बढी अप्ठ्यरोमा पर्ने भनेको करार अवधि सकिएका र श्रम सम्झौता बमोजिम नभएका बैदेशिक कामदारका बालबालिकाहरु पर्ने गरेका छन् ।

बैदेशिक रोजगारमा गई मृत्यु भएका वा अङ्गभङ्ग भएका तथा अशक्त भई फर्केका कामदारका परिवारमा रहेका बिद्यालय स्तरमा रहेका बालबालिकालाई बैदेशिक रोजगारी बोर्ड मार्फत छात्रवृत्ति पाउने ब्यवस्था रहेको छ । आधारभूत तहको लागी वार्षिक ८ हजार र माध्यमिक तहको लागि १२ हजार रुपैयाँ छात्रवृत्तिको ब्यवस्था भए पनि रुपन्देहीबाट न्यून बिद्यार्थीहरु मात्र यसबाट लाभान्वित हुने गरेका छन् ।

श्रम स्विकृति लिएर गएका र करार अवधि भित्रै मृत्यु भएका वा अङ्गभङ्ग भएका तथा अशक्त भई फर्केकाहरुको केही बालबालिकाले छात्रवृत्ति पाउने भए पनि यी नियम पुरा नगरेका बालबालिका भने त्यो छात्रवृत्तिबाट पनि वञ्चित हुने गरेका छन् । यस्ता बालबालिकालाई पनि सम्बन्धित पालिकाले तथ्यांक संकलन गरि छात्रवृत्ति प्रदान गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले भैरहवामा आयोजना गरेको बैदेशिक रोजगार वर्तमान अवस्था, अवसर तथा चुनौती विषयक अन्र्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक र आर्थिक रुपमा पछाडी परेका यस्ता बालबालिकालाई पनि छात्रवृत्तिमा समेटेर समान शिक्षाको अवसर प्रदान गर्नु पर्ने राय राखेका हुन् ।

सामीको रुपन्देही जिल्लाको कार्यक्रम संयोजक सीता पन्थ भण्डारीले प्रतिवर्ष नेपालबाट करिब साढे ४ लाख नेपालीहरु बिदेशिने गरेको बताईन । यी मध्ये श्रम स्विकृति नलिई जानेहरु पनि उल्लेख्य संख्यामा रहेको उनको भनाई छ । “यसरी बिदेशिएका सबैको रोजगारी सुखद हुदैन, दैनिक ४–५ वटा शव र अङ्गभङ्ग भएकाहरु भित्रिरहेका हुन्छन् ।” पन्थले भनिन् । स्थलगत अनुगमनको क्रममा यस्ता परिवारका बालबालिकाहरुको शिक्षामा धेरै प्रभाव परेको उनको भनाई छ ।

यिनिहरुलाई पनि शिक्षा प्रदान गर्न नितिगत रुपमै परिवर्तनको खाचो रहेको कार्यक्रममा सहभागी भानु माध्यमिक बिद्यालयका प्रधानध्यापक समेत रहेका मोतीलाल सुवेदीको भनाई छ । बैधानिक रुपमा गएका कामदारका बालबालिका मध्ये पनि यस बर्षको लागी जिल्लाबाट ४६ जनाको मात्र छात्रवृत्ति आवेदन परेको उनले जानकारी दिए । “छात्रवृत्ति पाउन सम्बन्धित पालिकाबाट सिफारीस चाहिन्छ कतिपय पालिकाले सिफारीस गरेकै १ हजार रुपैया सम्म लिने गरेको पाइयो ।”सुवेदीले भने “ बार्षिक ८ हजार छात्रवृत्ति पाउनको लागी बिद्यार्थीले २ हजार देखी ३ हजार रुपैया सम्म खर्चिनु पर्ने बाध्यता देखिएपछि यसलाई समाधान गर्न पालिकाहरुमा पहल गरेका छौ ।”

कार्यक्रममा सिद्धार्थनगर पालिकाकी उप प्रमुख उमा काफ्लेले वैैदेशिक रोजगारीमा मृत्यु भएकाको आश्रित बालबालिकालाई राहतको लागी नगरपालिकाको बोर्डमा कुरा राख्ने प्रतिवद्धता जनाईन । उनले शिक्षा बालबालिकाको नैर्सगिक अधिकार रहेको हुदा रकम अभावमा नगरका बालबालिका शिक्षाबाट बञ्चित नहुने बताईन । बैदेशिक रोजगारीमा जादा सो सम्बन्धित सबै जानकारी राम्रोसंग बुझेर मात्र बैधानिक रुपमा जानेबारे बुझाउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको वक्ताहरुले जोड दिए ।

सामी परियोजनाको कार्यक्रम संयोजक सीता पन्थ भण्डारीले यसै बिषयमा जानकारी एवम अन्य सेवा दिन रुपन्देहीको ४ वटा पालिकामा परियोजनाले काम गरिरहेको बताईन । जिल्लाको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगर पालिका, तिलोत्तमा नगरपालिका र कञ्चन गाउँपालिकामा परियोजनाले निशुल्क सूचना तथा परामर्श, मनोसामाजिक परामर्श, बित्तय साक्षरता, उद्दार तथा आकस्मिक सहयोग, न्यायको लागी निशुल्क कानूनी सहायता एवम निशुल्क सिप तालीमहरु प्रदान गरिरहेको पन्थको भनाई छ ।

भैरहवाको हकमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको आप्रवासन श्रोत केन्द्रबाट यी सेवाहरु प्राप्त गर्न सकिने उनले जानकारी दिईन ।