ताजा अपडेट »

बुटवलका सबै विद्यालयमा पुगेर कोरोना खोप लगाउने उपमहानगरको तयारी

बुधबार, ०७ पुस २०७८

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । कम्तमा सय जना विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरिने छ भने सोभन्दा कम संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गरिने छ ।

बुटवल उपमहानगरका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइ सकिएको छ अब छिट्टै बालबालिकाहरुका लागि पनि खोप सञ्चालन गरिने प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवलमा खोप लगाउन छुटेका नागरिकहरुले समेत कार्यालयमा जानकारी गराएको अवस्थामा तत्काल नै खोपको व्यवस्था गरिने उनले उल्लेख गरे । हालसम्म बुटवल स्थायी ठेगाना भएका नागरिकहरुले खोप लगाइसकेका छन् भने अन्यत्रबाट आएका नागरिकहरु कोही छुटेको भएमा पनि खोप उपलब्ध गराइने जानकारी दिए ।

उपमहानगरको कार्यालयमा बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै रेग्मीले सबै वडाहरुमा मतदाना नामावली संकलनका लागि आवश्यक सूचना गराइएको बताए । बुटवलका सबै नागरिकले इलाका प्रसान कार्यालयमा गएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेका छन् ।

शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले कोरोना महामारीको प्रभाव र विगतका अनुभवलाई ध्यानमा राखी यो वर्ष कक्षा १२ सम्मको आगामी फागुन १५ भित्रै वार्षिक परीक्षा सक्ने गरी तयारी भएको जानकारी गराए । ‘केन्द्र तथा प्रदेश सरकारले आह्वान गरेको अवस्थामा फागुन १५ भित्रै कक्षा १२ सम्मको परीक्षा गर्न सक्ने गरी तयारी भएको छ ।’–खनालले भने कक्षा ९ सम्मको परीक्षा भने उपमहानगरले नै योजना बनाएर सोही अनुसार गर्नेगरी तयारी गरेको छ ।

बुटवलका अधिकांश योजना कार्यान्वयनको चरणमा

बुटवल उपमहागरमा भएका आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार बिकासका बारेमा जानकारी गराउँदै उनले बोलपत्र आह्वान मार्फत भएका अधिकांश योजनाहरुको सम्झौता भई कार्यान्वयनको अवस्थामा पुगेको जानकारी गराए । यसैगरी उपभोक्ता समितिहरु मार्फत हुने ७० प्रतिशत योजना सम्झौता भइसकेका छन् भने सम्झौता भएका योजनाहरु मध्ये ५५ प्रतिशत बढी कार्यान्वयनको तहमा पुगिसकेको बताए ।
उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म २१ दशमलव १९ प्रतिशत पूँजिगत खर्च भएको छ भने २३ दशमलव ६२ प्रतिशत चालु खर्च भएको छ । यसैगरी १८ दशमलव ७५ प्रतिशत वित्तीय खर्च भएको छ ।
महत्वपूर्ण मानिएको पूर्वाधार विकास तर्फ यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, उर्जा, संचार तथा सूचना प्रविधि र सम्पदा पूर्वाधार शिर्षकमा २५ दशमलव २९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासका लागि कूल १ अर्ब, १९ करोड २६ लाख १३ हजार ७० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ३० करोड, १५ लाख ६० हजार २५ रुपैयाँ खर्च भएको छ । ८९ करोड बढी खर्च हुन बाँकी रहेका छन् । योजनाहरु भर्खरै कार्यान्वयनको तहमा गएको र ती योजनाहरुका लागि भुक्तानी गर्न बाँकी रहेको हुँदा खर्च कम देखिएको हो ।

महाशाखा प्रमुख खनालका अनुसार आर्थिक विकासतर्फ कृषि, उद्योग, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, जलश्रोत तथा सिञ्चाई, पशुपन्छी विकास, भूमि व्यवस्था तथा वाणिज्य शिर्षकमा २ दशमलव २३ प्रतिशत खर्च भएको छ । आर्थिक विकासका लागि विभिन्न शिर्षकमा कूल १८ करोड ८४ लाख ५७ हजार ८५० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ४२ लाख ५ हजार ७६१ रुपैयाँ मात्रै खर्च भएको हो ।

यसैगरी सामाजिक विकासतर्फको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकूद र सामाजि सुरक्षा तथा संरक्षण शिर्षकमा १९ दशमलव २९ प्रतिशत खर्च भएको छ । सामाजिक विकास तर्फ चालु आर्थिक वर्ष कूल ६५ करोड ७५ लाख ७६ हजार २ सय विनियोजन भएकोमा हालसम्म १२ करोड ६८ लाख १५ हजार ७४९ रुपैयाँ मात्रै खर्च हुन सकेको छ ।