ताजा अपडेट »

अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्रे कामी भेटिए

बुधबार, ०७ पुस २०७८

काठमाडौं । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण माइती पक्षले बेपत्ता पारिएका भनेका हुम्लाका चन्द्रे कामी फेला परेका छन् ।

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको भनिएका कामीलाई आज बिहान खार्पुनाथ गाउँपालिकामा फेला पारिएको प्रहरीले जनाएको छ । 

गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेका थिए । 

कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएका थिए । 

प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । कामीको खोजीमा हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली खटिएको थियो ।