ताजा अपडेट »

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन

मंगलबार, ०६ पुस २०७८

बुटवल । रुपन्देहीको बुटवल–११ देविनगरमा लुम्बिनी प्रदेश स्तरीय सी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देविनगरको वलीपथ स्थित कभर्ड हलमा पौष ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ए र बी लेभलका खेलाडी तथा भेट्रान्स खेलमा विजेता, उप विजेता र तृतीय भएका खेलाडी बाहेकले सहभागीता जनाउन पाउने भएका छन् ।

आशिष स्टेशनरी तथा स्पोर्टस् हाउसको आयोजनामा हुने प्रथम ‘आशिष कप ब्याडमिन्टन’ मा लायन्स क्लब अफ बुटवल स्टारको समेत सहभागीता रहने भएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजारसहित मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुनेलाई २० हजार तथा तृतीयलाई १५ हजार नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता बारे जानकारी गराउन मँगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष आयुष श्रेष्ठले उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई समेत विशेष पुरस्कारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने बताए । प्रतियोगितामा टप ८ मा पर्न सफल टिमलाई विशेष पुरस्कारको व्यवस्था गरिने कार्यक्रम सञ्चालक आशिष श्रेष्ठले बताए । लुम्बिनी प्रदेशभरीका खेलाडी सहभागी हुन पाउने प्रतियोगिताका लागि २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ भने उनीहरुलाई खाना नास्तको व्यवस्था आयोजकले नै गर्ने बताइएको छ । प्रतियाेगितामा मुख्य एम्पाएका रुपमा अर्जुन कार्की रहने छन् भने राष्ट्रिय अम्पायर प्रमाेद पहाडीले समेत साथ दिने छन् ।