भैरहवा । आउने निर्वाचनहरुलाई लक्षित गरि अहिले रुपन्देहीमा फोटोसहितको मतदाता नामावली संकलन कार्य भई रहेको छ । स्थानिह तहहरुमा टोली खटाएर, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट गरि ३ तहमा मतदाता नामावली संकलन कार्य भई रहेको छ ।
३ तहबाट संकलन भई रहे पनि मानव श्रोत र अन्य पूर्वाधारको अभावमा मतदाता नामावली कार्य सुस्त गतिमा हुदा मतदातामा नाम दर्ता गर्न आउने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । निर्वाचन आयोगले सूचना जारी गरेर पालिका स्तरमै मतदाता नामावली संकलन सुरु गरेको थियो । पुष ३ सम्मको म्याद दिएर सुरु गरिएको मतदाता नामावली संकलन कार्य समयमै नसकिए पछि रुपन्देहीमा पुष १९ गते सम्मको लागी पुनः म्याद थप गरि संकलन कार्य भई रहेको छ ।
रुपन्देहीको १६ पालिका मध्ये सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, कन्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा अहिले पनि टोली खटाई मतदाता संकलन कार्य भई रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस बाहेक ईलाका प्रशासन कार्यालय बुटवल, ईलाका प्रशासन कार्यालय मझगाँवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली संकलन कार्य भई रहेको छ ।
एकै पटक यति धेरै स्थानबाट मतदाता नामावली संकलन कार्य हुदा पनि दर्ता गर्नेहरु धेरै रहेको कारण संकलन कार्य ब्यवस्थित हुन सकिरहेको छैन । मतदाता संकलन भई रहेको सबै ठाउमा दर्ता गर्नेहरुको भिड छ ।
जिल्ला निर्वाचन कार्यालय भैरहवाका प्रमुख निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीका अनुसार राती १० बजे सम्म बसेर संकलन कार्य भई रहेको छ । कार्यालयले दैनिक रुपमा २ सय देखी २ सय ५० जना सम्मको नाम संकलन गरिरहेको भए पनि सेवाग्रही बढी रहेको कारण गाह््रो भई रहेको उनको भनाई छ । निर्वाचन कार्यालयमा संकलन कार्यको लागी ३ जना कर्मचारी खटिएका छन् । कार्यालयको क्षमता दैनिक २ सय ५० को हाराहारीमा भए पनि ५ सय बढी सेवाग्रही आउने गरेको उनको भनाई छ ।
सांघुरो ठाउमा रहेको कारण जिल्ला निर्वाचन कार्यालय आउने सेवाग्राहीले बढी सास्ती खेप्नु परेको छ । दुधे बालक बोकेका महिला देखी ७० बर्षका जेष्ठ नागरिक सम्म दिनभरि लाईनमा बस्नु परिरहेको छ । निर्वाचन कार्यालयले अब्यवस्थित रुपमा संकलन कार्य गरिरहेको सेवाग्रहीहरुको आरोप रहेको छ । सेवाग्राही सोम थापाले कोभिडको समयमा पनि कार्यालयले भिड ब्यवस्थापन गर्न नसकेको आरोप लगाए । उनले लाइन कार्यालयले लाईन लगाएर ब्यवस्थित रुपमा दर्ता गर्न सुझाव दिए ।
जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत अयोध्या भण्डारीले कार्यालयमा क्षमता भन्दा बढी सेवाग्राही आएको र सिमित जनशक्तिका कारण कठिनाई भएको बताए । उनले आयोगले जनशक्ति र श्रोत साधन दिए सहज हुने जिकिर गरे ।
भण्डारीका अनुसार रुपन्देहीमा ८० देखी ९० हजार मतदाताहरुको मतदाता नामावली नभएकोमा यो अवधिमा ४० देखी ४५ हजार जनाको नाम संकलन गरिएको बताए । जिल्लामा अझै पनि करिब ५० हजार जनाको मतदाता नामावली संकलन बाँकी रहेको भण्डारीको अनुमान छ ।
प्रतिक्रिया