कार्तिक ४,
काठमाडौँ । चाडपर्व नजिकिदै गर्दा मनोरञ्जन गर्न जुवाको रुपमा खेलिने तासको आयातमा ह्वात्तै वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकका झन्डै पाँच करोड रुपैयाँको तास भित्रिएको छ। साउन र भदौं महिनामा ३३ लाख ४१ हजार २ सय ६ प्याकेट तास आयात भएका छन्। उक्त तासको मूल्य ४ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको छ। गत वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा यसपाली ३५.२४ प्रतिशतले तास आयात वृद्धि भएको छ। गत वर्ष पहिलो दुई महिनामा मुलुकमा ३ करोड ६ लाख ४७ हजार रुपैयाँका २१ लाख १० हजार प्याकेट तास आयात भएका थिए।
वार्षिक रुपमा २५ करोडभन्दा धेरैको तास आयात हुने गरेकोमा तिहार अघिका दुई महिनामा मात्र उक्त तास आयात भएको देखिन्छ। तिहारको बेलामा मनोरञ्जन र कसैले जुवाकै रुपमा तास खेल्ने चनल छ।चालु आवको पहिलो महिनामा २ करोड ७९ लाख रुपैयाँका २० लाख ७४ हजार ४ सय प्याकेट तास भित्रिएका थिए। सरकारी तथ्यांकअनुसार हरेक वर्ष करोडौं रुपैयाँको तास आयात भइरहेको छ। विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५÷७६ को तथ्यांकअनुसार एक वर्षमै मुलुकमा २५ करोड ६ लाखभन्दा धेरैको तास ल्याइएको थियो। यो त्यसअघिको वर्षको तुलनामा ४१ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष २०७४/७५ मा मुलुकमा १४ करोड ५७ लाख रुपैयाको तास आयात भएको थियो। यस हिसाबले हेर्दा गत वर्ष मुलुकमा आएको तास अघिल्लो वर्षभन्दा १० करोड ४९ लाख रुपैयाँ धेरैको आएको छ। गत वर्ष मुलुकमा १ करोड ५७ लाख २५ हजार ५ सय २१ प्याकेट तास आयात भएको थियो। जब कि अघिल्लो वर्ष आयात भएको तासको प्याकेटको संख्या एक करोड २१ लाख ४४ हजार ७ सय ३८ थियो।
दसैंतिहार जस्ता चाडपर्वमा धेरै खेलिने तास हरेक पान पसलदेखि ठूला डिपार्टमेन्टसम्म खुलेआम बिक्री भइरहेका छन्। सस्तोदेखि महंगो मूल्यका विभिन्न स्तरमा पाइने तास खेल्न सरकारले कडाई गरे पनि त्यसको बिक्री वितरण भने खुलेआम छोडिदिएको छ।नेपाल सरकारको अनुमति लिएर फाइभ स्टार होटलमा खुलेका क्यासिनोमा भने जुवा कै रुपमा तास खेल्न पाइन्छ। तर, उक्त क्यासिनोमा भने नेपालीलाई छिर्न भने अनुमति छैन। नेपालमा विश्वका विभिन्न मुलुकबाट तास आयात भइरहेका छन्। भारत, चीन, मलेसिया, ताइवान, बेलायत, अमेरिका लगायतका देशबाट तास आयात भइरहेको छ। - सन्तोष न्यौपाने /नेपालन्यूज
प्रतिक्रिया