ताजा अपडेट »

गुल्मीको मुसिकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा

सोमबार, ०५ पुस २०७८

गुल्मी । मेगा बैंक लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडानम्बर-२ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको  बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै नगर प्रमुख सापकोटाले ग्रामिण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए । उनले ७५ वर्षका माथीकालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरे । उनले नगरपालिका वासीलाई बचत गर्ने बानीको बिकास गर्न जोड दिए ।

प्रत्येक नागरिकले सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बताए । बचत गरिएन भने पछि आफैलाई अप्ठ्यारो परेको बेला झनै संकट आइपर्ने नगरप्रमुख सापकोटाको भनाई छ ।  उनले एक घरका एक जना भएपनि खाता खोल्न आग्रह गरे । मुसिकोट नगरपालिकाले दिने सेवा पनि यसै बैंकबाट दिने सापकोटाले बताए ।

ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुँच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तारमा बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।