काठमाण्डौं । सोनी र मार्भल स्टूडियोको ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ । फिल्मले सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । आइतबार सार्वजनिक बिदाको कमाइ जोड्दा फिल्मको पहिलो सप्ताहन्तको कूल कमाइ सवा तीन करोड नेपाली ग्रस हुने अपेक्षा छ ।
रिलिजअघि नै ७६ लाख अग्रिम टिकट विक्री गरेर अहिलेसम्मकै प्रि-सेल टिकेटिङको कीर्तिमान राखेको फिल्मको पहिलो दिनको कमाइ झन्डै १ करोड ग्रस बताइएको छ । अपेक्षा अनुसार नै शनिबारको कमाइमा उछाल आउँदै एक करोडभन्दा बढी ग्रस कलेक्सन छ ।
स्पाइडरम्यानले एभेन्जर्स : एन्डगेमको दुई दिने कमाइलाई पनि उछिनेको बताइएको छ । मार्भलकै एन्डगेमले लकडाउनअघि दुई दिनमै २ करोड १५ लाख ग्रस कमाइ गरेको थियो । वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक जेनिश पहारी र फिल्मको कारोबारमा संलग्न अन्य निकायले पनि दुई दिने कमाइको पुष्टि गरे । थ्रीडी प्रविधिमा रिलिज भएकाले पनि स्पाइडरम्यानको कमाइमा बढोत्तरी देखिएको हो ।
क्यूएफएक्स प्रमुख तथा रेगल सिनेमाज्का प्रमुख नकिम उद्दिनले स्पाइडरम्यानले वितरकलाई मात्र नभएर चलचित्र घर र उद्योगलाई नै फाइदा पुगेको बताए । ‘महामारीले थलिएको उद्योगलाई यसले चलायमान बनाउने काम गरेको छ’ उद्दिनले भने, ‘ब्रान्डको कारणले पनि यसले राम्रो कमाइ गर्न सकेको हो ।’
फिल्म समीक्षक तथा निर्देशक मनोज पण्डितले स्पाइडरम्यानको ब्रान्ड यो आक्रामक कमाइ गर्न सक्षम रहेको बताए । ‘हलिउडले अहिले ब्रान्ड प्रवद्र्धन गर्दै नेपाल र भारतजस्ता मुलुकमा आक्रामक कमाइ गरिरहेको छ’ पण्डितले भने, ‘यस्तो अवस्थामा नेपाली फिल्मले आफ्नो स्पेस खोज्नुपर्ने आवश्यकता छ । अब अन्तर्राष्ट्रियरुपमै अघि बढ्ने फिल्म बनाउन नेपालले ढिलाइ गर्नुहुँदैन ।’
भारतमा आइतबारसम्मको स्पाइडरम्यान कमाइ ७९.१४ करोड ग्रस छ । हलिउडमा समेत स्पाइडरम्यानले कीर्तिमान राखेको छ । उत्तर अमेरिकी बक्सअफिसमा पहिलो सप्ताहन्तमा २५३ मिलियन डलर कमाउँदै यो फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ गर्ने तेस्रो फिल्म बनेको छ ।
चीनबाहेक विश्व बजारमा स्पाइडरम्यान कमाइ ५८७.२ मिलियन डलर छ । विश्व बजारमा यो कमाइ अहिलेसम्मकै तेस्रो भएको हलिउड रिपोर्टरले जनाएको छ । उत्तर अमेरिकी बक्सअफिसमा अहिलेसम्म एभेन्जर्स : एन्डगेम सर्वाधिक ओपनिङ गर्ने फिल्मको शीर्षस्थानमा छ । एन्डगेमले पहिलो सप्ताहन्त ३५७ मिलियन डलर ओपनिङ गरेको थियो । दोस्रो स्थानमा एभेन्जर्स : इन्फिनिटी वार (२५७.६) मिलियन डलर छ ।
सूर्यवंशीले केही राहत दिएको नेपाली फिल्म उद्योगमा स्पाइडरम्यानको यो सुनामीले सिनेमा घरलाई ठूलै राहत मात्र दिएको छैन, दर्शकलाई हलसम्म फर्काउने आधारभूमि पनि तयार पारेको छ । स्पाइडरम्यानसँगै दक्षिण भारतीय फिल्म पुष्पाले पनि नेपाली बक्सअफिसमा दुई दिनमा डेढकरोडभन्दा बढी कमाइ गरेको छ । अल्लु अर्जुन स्टारर यो साउथ इन्डियन फिल्म पनि मुख्य मल्टिप्लेक्सहरुमा हाउसफूल प्रदर्शन भैरहेको छ । -नेपाल प्रेस
प्रतिक्रिया