ताजा अपडेट »

८१ कम्पनीको सूचीकरण खारेजीले सेयर कारोबार सुस्त

आइतबार, ०३ कार्तिक २०७६

कार्तिक ३,
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकै दिन ८१ वटा कम्पनीको सूचीकरण खारेज गरिदिएपछि सेयर कारोबार सुस्ताएको छ। उक्त कम्पनीले धितोपत्र नवीकरण शुल्क नबुझाएको कारण नेप्सेले सूचीकरण खारेज गरिदिएको हो। सूचीकृत कम्पनीको खारेजी गर्दा आज (आइतबार) सेयर कारोबार रकममा कमी आउन पुगेको छ। दैनिक २० करोडको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ११ करोड ३३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुन पुगेको छ।

कारोबार रकमसँगै नेप्से पनि ओरालो लागेको छ । नेप्से साताको पहिलो दिन आज (आइतबार) ४.०३ अंकले घटे ११३३.७१ मा आइपुगेको छ। सूचीकरणवापत वार्षिक शुल्क बुझाउनुपर्छ। प्रत्येक वर्ष असोज मसान्तपछि कैयौं कम्पनीको सूचीकरण खारेज हुने गरेको छ। उनीहरूले पछि शुल्क बुझाएपछि कारोबार सुचारु हुन्छ। ८१ मध्ये सातवटा कम्पनीले आजै शुल्क बुझाएका कारण कारोबार खोलिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। नेप्सेले लघुवित्त समूहमा सूचीकृत १९ कम्पनी, ट्रेनिङ समूहका तीन, होटेल समूहका २, उत्पादनमूलक समूहका ११, विकास बैंकका १८, बिमाका दुई, फाइनान्सका ११ र जलविद्युतका १३ गरी ८१ कम्पनीको सूचीकरण खारेज गरिदिएको हो। तर, त्यसमध्ये सातवटाले शुल्क तिरेका कारण आजबाट कारोबार खुला गरिएको जानकारी पनि पराजुलीले दिए। हाल २ सय १७ कम्पनी नेप्सेमा सूचीकृत छन्। नवीकरण शुल्क नबुझाएसम्म उनीहरूको कारोबार हुँदैन। समयमै सूचीकरण शुल्क बुझाउनेमा वाणिज्य बैंकहरू छन्। वाणिज्य बैंक समूहबाट कुनै पनि कम्पनी खारेजीमा परेका छैनन्।

८१ कम्पनीको सूचीकरण खारेजी भएका कारण दोस्रो बजारमा किनबेच सुस्त देखिएको छ। उक्त दिन ११ वटा समूहको सूचक घटेका छन्। सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको सूचक २३.३७ अंकले घटेको छ। निर्जीवन बिमा कम्पनी समूहको सूचक १६.७३ र ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको सूचक ३.९३ अंकले घटेको छ।उक्त दिन प्रभु बैंकको सेयर सबैभन्दा बढी १ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको सेयरको कारोबार एभरेष्ट बैंकको भएको छ। उक्त बैंकका ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी सेयर कारोबार हुने एनआइसी एसिया बैंकको सेयर रहेको छ। उक्त बैंकको ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। - नेपालन्यूज