ताजा अपडेट »

तिलोत्तमाका ५१ जना किशोरीलाई साइकल वितरण

शुक्रबार, ०२ पुस २०७८

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ जना किशोरीहरुलाई साईकल वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिव, विपन्न, दलित, पिछडिएको वर्गका ५१ जना किशोरीहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा शुक्रबार साईकल प्रदान गरिएको हो ।

ग्रीन–वे नेपाल अभियान अन्तर्गत् तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, एनसेल, कान्तिपुर मिडिया ग्रुप, साईकल सिटी बुटवल र साइकल सिटी नेटवर्क नेपालको सहकार्यमा किशोरीहरुलाई साईकल वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले स्वस्थ जीवन र स्वच्छ शहरका लागि साईकल यात्रा अभियान प्रवद्र्धन गर्न किशोरीहरुलाई साईकल प्रदान गरिएको बताए । साईकल प्राप्तिले किशोरीहरुलाई विद्यालयसम्म पुग्न सहज हुने र त्यसले उनीहरुको अध्ययन कार्यमा टेवा पुर्याउने नगर प्रमुख घिमिरेको विश्वास छ ।

तिलोत्तमालाई वातावरणमैत्री नगरको रुपमा विकास गरिएको बताउँदै उनले साईकल चलाउने संस्कारको विकासका लागि मोबाइल एप समेत सञ्चालनमा ल्याइने जानकारी दिए । साईकल चलाउँदा व्यक्तिको स्वास्थ्य पनि राम्रो हुने भएकोले तिलोत्तमालाई साईकल सिटीको रुपमा समेत विकास गरिने उनको भनाइ छ । तिलोत्तमाले गत वर्ष एक सय भन्दा बढी श्रमिक महिलाहरुलाई साईकल वितरण गरेको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका लुम्बिनी–गण्डकी प्रमुख सुदीप अर्यालले दिगो विकासको लागि साईकल प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउँदै यो कार्यक्रमले वातावरण संरक्षणमा टेवा पुर्याउने बताए। साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले साईकल प्रयोगकर्ता बढाउन सके बढ्दो वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने र त्यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए।

एनसेलका स्वस्तिक घिमिरेले साईकल चलाउने अभियानले शहरको वातावरण संरक्षण गर्ने उल्लेख गरे। नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा साईकल व्यवसायी संघ रुपन्देही, साईकल सिटी बुटवललगायतका संघ–संस्थाका प्रतिनिधिहरुले साईकल चलाउँदा व्यक्तिको स्वस्थ र वातारणमा पर्ने बारेमा चर्चा गरेका थिए । कार्यक्रम पश्चात नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायतका जनप्रतिनिधि तथा साईकल प्राप्त गरेका किशोरीहरुले साईकल र्याली समेत गरेका थिए ।