रुपन्देही । यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । निल हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले समाजले अझै पनि फरक व्यवहार गर्ने भएकाले समाजमा स्थापित हुन सञ्चारको भूमिका प्रमुख रहेकोमा जोड दिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायसँग सम्बन्धित विषयमा समाचार दिदा शब्दावलीमा ध्यान दिनुपर्नेमा उनिहरुको जोड थियो ।
कार्यक्रममा अग्रज पत्रकार तथा सञ्चारिका समूहका पूर्व अध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका सवालमा सञ्चारसंस्था संबेदनशील बन्नुपर्ने बताइन्। सबै सञ्चारसंस्थालाई एकै ठाउँमा राखेर मूल्यांकन गर्न नुहने बताउँदै उनले मूलधारका सञ्चारसंस्था भन्दा दर्ता नभएका र युट्युबमा बढि नकारात्मक सामग्री आउने गरेको उल्लेख गरिन्
“मिडिया सामग्रीको विश्लेषण गर्दा धेरैजसो सामग्री बिकाउरुपमा आएका छन् । राम्रा कामका समाचार सकारात्मक रुपमा आए पनि बैकल्पिक मिडियामा बढी सामग्री पाईन्छ ।”,उनले भने ।
निल हिरा समाजका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले पहिचान र अधिकारका लागि समाजले आवाज उठाउँदै आएको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरिन्। “कहिलेकाही मिडियामा आउने सामग्रीले यौैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा नकारात्मक प्रभाव पार्छ तयसैले मिडिया बढि संवेदनशील बन्नुपर्छ ।”,उनले भनिन् । संयोजक श्रेष्ठले प्रदेश स्तरमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि समावेशी ऐन, नीति र बजेटको व्यवस्था गर्न माग गरे।
बियोन्ड बेइजिङ कमिटि नेपालका कोषाध्यक्ष जगजित कौरले यौैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सबैले साझा ढगले उठाउन आवश्यक रहेको बताउँदै यसमा मिडियाको भूमिका अझै बढि हुने भनाइ रखे।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पत्रकार आचार संहितालाई टेकेर काम गर्ने भएकाले मूलधारका मिडियामा खासै समस्या नहुने गरेको बताइन् ।
निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले राज्यका हरेक तहका अर्थपूण सहभागिता र समावेशीकरण जरुरी रहेकोमा जोड दिइन्। उनले यो समुदायमाथि हुने हिंसा र विभेद कम गर्न सरकारले विशेष संयन्त्र बनाउनुपर्ने बताइन्। साहसी कदम नेपालका प्रदेश संयोजक आनिक रानाले राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दालाई घोषणा पत्रमा समावेश गरी नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन्।
युवाका क्षेत्रमा कार्यरत संस्था युवाका सदस्य आस्था सुवेदीले महिला तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकलाई यौनिकतासँग मात्रै जोडेर नहेर्न आग्रह गर्दै युवालाई उत्प्रेरणा दिने खालका विषयवस्तुलाई मिडियामा प्राथमिकता दिन आग्रह गरिन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका रुबिना तामाङ र टिकाराम न्यौपानेले शारीरिक अवस्था एउटा र अर्कै भावना बोकेर हिँड्न सहज नहुने भएकाले यो समूदायको भावना बुझेर कलम चलाउन पत्रकारहरुलाई अनुरोध गरे ।-रासस
प्रतिक्रिया