भैरहवा । भगवान गौतमबुद्धको जिवनीसँग प्रत्यक्ष सम्बन्ध रहेको उनको जन्मस्थल लुम्बिनी, २९ वर्ष ब्यतित गरेको कपिलवस्तु, ज्ञान प्राप्त गरेको स्थान बोधगया, प्रथम उपदेश दिएको सारनाथ र महापरिनिर्वाण भएको कुशीनगर हो । यस बाहेक गौतम बुद्धले आफ्नो ज्ञान आर्जन गर्ने यात्राको क्रममा भ्रमण गरेका धेरै स्थान अहिले भारतमा रहेका छन् । राजगीर, श्रावस्ती लगायतका स्थान भारतमा रहेको छ ।
यी मध्ये पनि लुम्बिनी, कपिलवस्तु, बोधगया र कुशीनगर बौद्ध परिपथको मूल क्षेत्र हो । बौद्ध परिपथमा पनि सर्वप्रथम लुम्बिनी, कपिलवस्तु हुदै बोधगया र कुशीनगर हुनुपर्नेमा अहिले भारतमा रहेका बुद्धसँग सम्बन्धित स्थलहरुको भ्रमणपछि मात्र पर्यटकहरु नेपाल आउने गरेका छन् ।
बौद्ध परिपथको भ्रमण लुम्बिनीबाट सुरु गराउन नसक्दा यसको प्रत्यक्ष मारमा नेपाली पर्यटन क्षेत्र परेको छ । भारत भ्रमणकै क्रममा प्राय पर्यटकको खर्च गर्ने क्षमता सकिएको र समयको समेत अभाव भएको कारण देखाउदै धेरै पर्यटकहरु नेपाल आउनै खोज्दैनन् । नेपाल आउने पर्यटक पनि नेपालमा राम्ररी भ्रमण नगरि भ्रमण छोट्याउने र रकम नै खर्च नगर्ने प्रकृतिका मात्र रहेका पर्यटन ब्यवसायीहरुको भनाई छ ।
लुम्बिनीलाई बौद्ध परिपथको सुरु बिन्दुको रुपमा प्रचार प्रसार नगरेको पर्यटन ब्यवसायीहरुको गुनासो छ । भारतले आफ्नो क्षेत्रहरुको प्रचार प्रसारमा प्रयाप्त लगानी गरे पनि नेपालमा यसको अभाव रहेको उनिहरुको भनाई छ । लुम्बिनीबाट बौद्ध परिपथको सुरुवात गराउन नेपालले नीतिगत रुपमै अगुवाई गर्नु पर्ने पर्यटन ब्यवसायीको भनाई छ ।
लुम्बिनीबाट भ्रमणको सुरुवात गराउन यहाँको पूर्वाधारहरु नै प्रयाप्त नरहेको पर्यटन ब्यवसायीकै दाबी छ । सिद्धार्थ होटल एसोसिएसन (शान)का महासचिव समेत रहेका पर्यटन ब्यवसायी रविन्द्र शर्मा घिमिरेका अनुसार पर्यटकहरु पहिला नेपाल आए उनिहरुको लागि प्रयाप्त र स्तरीय सवारी साधनकै अभाव छ । यो पनि भारतलाई भ्रमण बिन्दुको सुरुवात गराउने महत्वपूर्ण पक्ष हो । भारतमा चिल्लो बाटो, स्तरीय पर्यटक बस, सफा र सुरक्षित बौद्ध स्थलहरुले गर्दा पर्यटकहरुको रोजाईमा भारत पर्ने गरेको छ ।
“पर्यटकहरु १९ दिने र २१ दिने गरि २ प्रकारको प्याकेजमा भ्रमण आउने गरेका छन् । १९ दिने प्याकेजमा आउने पर्यटक लुम्बिनी भ्रमणको लागि आएकै दिन फिर्ता हुने गरेका छन् भने २१ दिने प्याकेजमा आएका पर्यटक १ रात लुम्बिनीमा बसेर फर्किने गरेका छन् ।” शानका महासचिव घिमिरेले भने
नेपालमा रहेका बौद्धसँग सम्बन्धित पर्यटकीय स्थलहरुलाई राम्रोसँग चिनाउनै नसकेको घिमिरेको भनाई छ । “नेपालमा रहेका सम्पदाहरुको राम्रोसँग प्रचार गर्न सकिएको छैन । त्यो हाम्रो दायित्व हो कि, संघीय सरकारको, प्रदेश सरकार वा स्थानीय सरकारको दायित्व हो ? हामी प्रचार प्रसारको मामिलामा धेरै कमजोर रहेका छौं ।” घिमिरेले भने ।
यस बाहेक भारतीय टुर अपरेटरहरुले बौद्ध परिपथसँग सम्बन्धित नेपालको स्थलहरुबारे पनि लुकाउने गरेको नेपाली पक्षको आरोप छ । पर्यटकले सोधखोज गरेको समय मात्र उनिहरुले नेपालमा रहेको स्थलहरु बारे संक्षिप्त जानकारी दिने र बिभिन्न बाधा देखाएर उनिहरुलाई भारतमै रोक्ने नियत रहेको हुन्छ ।
यसको तुलनामा नेपालमा बुद्धसँग सम्बन्धित क्षेत्रहरुको अझै पनि अपेक्षाकृत विकास हुन सकेको छैन । धुलैधुलो भएको, अत्याधिक सवारी चाप भएको बाटो छन् भने उनिहरु माथि गुड्ने स्तरिय बस समेत छैनन् । यहि अवश्था रहे नेपालमा पर्यटन ब्यवसाय थप धरापमा पर्ने पर्यटन ब्यवसायीको भनाई छ ।
नेपाल पर्यटन बोर्डले पनि अहिले सम्म नेपालबाट बौद्ध परिपथको सुरुवात गर्न नसकेको स्विकार गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले लुम्बिनीमा निर्माण भएको अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आए लगत्तै यसको प्रचार प्रसार तिव्र बनाईने बताउछन् । उनले भ्रमणको सुरुवात बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरुवात गर्दा अझ बढी फल प्राप्त हुने भन्ने अभियानका साथ अगाडी बढाईने जानकारी दिए ।
भारतीय टुर अपरेटरहरुले भने पर्यटकलाई नेपाल नजान भनेको हल्ला मात्र भएको बताउछन् । एशोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो)का महासचिव कौलेश कुमारले बुद्धिज्ममा कहिले पनि भारत र नेपाल भनेर भेदभाव नगरेको बताए । भ्रमणको लागी आउने पर्यटकले बौद्ध सर्किटको बारेमा सोध्ने गरेको र सोही अनुसार भ्रमणको ब्यवस्था मिलाउने गरेको उनको भनाई छ ।
प्रतिक्रिया