ताजा अपडेट »

चिसोसँगै ओमिक्रोनको त्रास

विहीबार, ०१ पुस २०७८

राजनीतिक दलका अधिवेशन तथा सम्मेलन चलिरहेका छन् । यसमा मानिसहरूको उपस्थिति, भीडभाड निकै देखिन्छ । बढ्दो चिसोसँगै ओमिक्रोन कोरोना सङ्क्रमणले महामारी निम्त्याउने हुन् कि भन्ने चिन्ता बढेको छ । त्यसो त १२ मङ्सिरमा तान्जानियाबाट स्वदेश फर्किएका आठ जनामध्ये छ जना होटेल क्वारेन्टिन छलेर घर जान सफल भएबाट पनि हाम्रो तयारी, नियम कानुनको पालना तथा नियमनको पाटो अनुमान गर्न सकिन्छ । कोरोनाको विगतको त्रासबाट मुक्ति नपाउँदै फेरि नयाँ भेरियन्टले सबैलाई चिन्ता थपेको छ ।

जाडो याममा तराईमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर पहाडमा हिमपात र तराईमा शीतलहरले गर्दा अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसहरूको मृत्यु पनि हुनु दुःखलाग्दो विषय हो । हिमाली भेगमा जाडोको समस्या त छ तर त्यहाँका मानिसको रहनसहन जाडो छल्ने किसिमको छ ।

देशकै सर्वाधिक जनघनत्व बोकेको तराई क्षेत्र जहाँ प्रति व्यक्ति आय कम भएका बढी छन् । त्यहाँको घर, लुगाफाटा र चालचलन गर्मीसँग जुध्ने खालको हुन्छ र तराई केन्द्रित पर्यावरणीय समस्या बढी नै देखापरेका छन् । जब जाडो सुरु हुन्छ तब हुने नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्छन् । परिवर्तित चिसो मौसम वातावरणको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकोले मौसम परिवर्तन जनस्वास्थ्य समस्यासँग जोडिने गर्दछ । साधारणतया जति गरम र तातोसँग मानिस अनुकूल बन्न सक्दछ त्यति चिसोसँग हुन सक्दैन ।

चिसोले शारीरिक कमजोरी भएका वृद्ध, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरका अतिरिक्त अन्य सबैलाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वास, अपच, पखालाजस्ता पाचनप्रणाली, स्नायु प्रजनन, रक्तसञ्चार प्रणालीलगायतका विभिन्न वातावरणीय, सङ्क्रामक रोगबाट बढी प्रभावित हुन्छन् । जाडोमा मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ । ओठ, मुख, हातगोडा फुट्छ ।

जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले योनीद्धारबाट सेतो पानी बग्ने, यौनाङ्ग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुन सक्छ । यस मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राईटीस, झाडापखाला हुन सक्छ । जन्डिस र टाईफाईड तथा वाथ, सन्धीवाथ, आमवाथ आदि रोगबाट ग्रसितमा जाडोमा पीडाको बोध अत्यन्त ज्यादा हुन्छ ।
चिसो छालाका लागि अनुकूल हँुदैन । बाहिर चिसो, सुक्खा, धुलो धुवाभित्र तातोको सन्तुलन नमिल्दा त्यसको प्रभाव छालामा देखिन्छ । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छाला सुक्खा, रुखो, रातो, फुट्ने, खस्रो हुने, चिलाउने, पत्र निक्लने, चाया, पोतो, छालाको समस्या देखिन थालिसकेको छ ।

थोरै मात्र चनाखो भए यसबाट छुटकारा पाउन सकिने भए पनि जानकारीको अभाव तथा लापरबाहीले समस्या बढेको छ । पर्याप्त मात्रामा पानी वा झोलिलो खाने, अनुहारमा तातोपानीको वाफ लिने, छालाअनुसारको क्रिम, म्वास्चराईजेर र अनिवार्य सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

जब बाक्लो हुस्सु, चिसो वातावरण र शीतलहर चल्दछ तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्दछ । चिसो पानीले पनि हाईपोथर्मिया हुन सक्छ । बढी जाडो हुँदा शरीर काम्नुको साथै मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी सङ्कुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ ।

एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बूढाबूढी, बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । गर्मीमा औषधिले नियन्त्रित हुने उच्च रक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर झनै खतरनाक हुन्छ । चिसोले रगत बाख्लो बनाउँछ, पातला रक्तनली साघुरिन्छ तब रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्टेरोल जम्छ, धमनी साघुरो हुन्छ । जसलाई ग्यास, अपच भनी लापरबाही गरिन्छ ।

जाडोबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु जो एक ठाउँमा नचली बस्दछन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ । प्रभावित व्यक्तिलाई उपचारको क्रममा प्राथमिक उपचारको अपरिहार्य महìव छ । न्यानोपन नै प्रमुख उपचार हो ।

नेपालमा पनि दक्षिण अफ्रिका हुँदै नेपाल भित्रिएका दुई जना एक ६६ वर्षीय दक्षिण अफ्रिकी र अर्का उनको सम्पर्कमा रहेका ७१ वर्षीय पुरुषमा करिब ५५ वटा म्युटेसन भएको र स्पाईक प्रोटिनमा ३२ परिवर्तन भएको ओमिक्रोन पुष्टि भएको मङ्सिर १९ मा घोषणा भइसकेको छ । जबकि मङ्सिर ३ गते नेपाल भित्रिएकामा ७ गते लक्षण देखिएका उनी र सम्पर्कमा आएका अर्कामा कोरोना पुष्टिले विश्व स्वास्थ्य सङ्गठनले पहिचान तथा सर्तकता गर्नभन्दा पहिले नै विश्वभर फैलिसकेको हुन सक्ने देखिन्छ । डेल्टा सङ्क्रमण फैलन १०० दिन लागेको सङ्ख्या ओमिक्रोन दुई सातामै भइसकेको छ । त्रासले धेरै राष्ट्रले सीमा प्रतिबन्ध गरेका छन् । तालाबन्दीको सम्भावना बढ्दैछ । ओमिक्रोन डेल्टा भेरियन्टभन्दा धेरै सङ्क्रामक भएको कारण विश्वव्यापी तनाव छ । त्यसैमा दोस्रो लहरले देखाएको दुर्घटना मानसपटलमा ताजै भए पनि हुने गरेका मापदण्ड पालना, भीडभाड, भोज, महाधिवेशन र नियम कानुनका उल्लङ्घनले तेस्रो लहर झनै भयावह हुन सक्छ कि ?

चिसोका कारण होस् या जुनसुकै स्थितिमा पनि रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने त छँदैछ । तापनि चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवाँ धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा चिसोबाट उत्पन्न हुनसक्ने समस्याबाट बच्न सकिन्छ । धुलो, धुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क अनिवार्य लगाउने गर्नु पर्दछ ।

त्यस्तै जाडोबाट बच्ने निहुमा पूरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टितेल तथा ग्यासयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिइदिएर अक्सिजनको मात्रा कम हुने एकातिर हुन्छ भने अर्कोतिर आगोले कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यास बढ्छ र अचेत बनाई थाहै नपाइ मृत्यु हुने खतरा बढ्छ र घरमा आगलागी हुनसक्छ ।

भीडघाड–भौतिक दूरी कायम नगरिदा, पटक पटक हात धुने तथा स्यानिटाइजरको प्रयोग र निरन्तर मास्कको उचित प्रयोग तथा पूर्ण खोपको पालना नगरिँदा कोभिड १९ लगायतको सङ्क्रमणको चपेटामा पर्न सकिने भएकाले हरसमय सजग र सचेत बन्नैपर्छ । सरकार पनि यौनजन्य रोगबाट बच्न कण्डम र सुरक्षित यौनसम्पर्क, सङ्क्रामक तथा पानीजन्य रोगबाट बच्न पानी उमालेर खाने जनचेतना फैलाए जस्तै जाडो मौसममा जाडोबाट बच्ने उपाय तथा झ्याल, ढोका थुनेर आगो नबाल्ने, दाउराको सट्टा न्यानो कपडा, हट वाटर ब्याग र कम्मल बाड्नेजस्ता सन्देश फैलाई चिसोबाट हुन सक्ने नागरिकको धन र ज्यान जोगाउन लाग्नैपर्छ ।-गोरखापत्र अनलाइन