ताजा अपडेट »

तिलोत्तमा बालमैत्री नगर घोषणा (तस्वीरमा)

बुधबार, २९ मंसिर २०७८

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका आज बुधबार बालमैत्री नगर घोषणा हुँदैछ । पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा बालमैत्री नगर घोषणा गर्न लागिएको हो । रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगरपालिका घोषणा हुन लागेको हो । 

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, एमालेका केन्द्रिय सदस्य धनश्याम भुसाल, लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा अर्याल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ लगायत विभिन्न दलका नेता, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मीहरुको बाक्लो सहभागिता रहेको छ । घोषणा कार्यक्रमको सञ्चालन नगरपालिका प्रवक्ता सुरेन्द्र श्री गरि रहेका छन् भने उपप्रमुख जागेश्वरी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलव्धि हासिल गर्नुपर्ने हुन्छ । त्यस्तै ६ वटा सूचकमा ९५ प्रतिशत उपलव्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतीजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ । त्यसपछि शतप्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतीजा हासिल भएका सूचकलाई शतप्रतिशतमा पुर्‍याउने प्रतिवद्धता सहितको पञ्चवर्षीय रणनीतिक योजना र प्रतिवद्धता गरेमा बालमैत्री घोषणा गर्न सकिने प्रावधान रहेको छ ।