परासी । देशका लागि बलिदान दिने वास्तविक शहिदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् ।
जथाभावी शहिद घोषणा गर्ने परिपार्टीले वास्तविक शहिदको अपमान भएको उनीहरुको गुनासो छ । शहीद दिवसका अवसरमा पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित जनआन्दोलन २०६२÷०६३ का शहिद विष्णु पाण्डेको शालिकमा आज बिहान माल्यापर्ण गर्दै शहीद पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले शहिदको अपमान नगर्न सरकारलाई आग्रह गरे ।
राणाशासन र राजतन्त्रको अन्त्य गर्न वीर शहिदले दिएको बलिदानीका कारण आज मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि शहिददको रगतको पनि सम्मान हुन नसकेको उनको गुनासो छ ।
उनले भने, “पछिल्ला केही वर्षदेखि दुर्घटनामा ज्यान गुमाउने, चोरीडकैती गर्दा ज्यान गुमाएकालाई पनि शहिद घोषणा गरिएको छ, दलहरुले आफ्नो कार्यकर्तालाई भागबण्डा लगाएर दलीय हिसाबले शहिद घोषणा गरिरहेका छन्, यसको म घोर भत्र्सना गर्दछु ।”
देश र जनताका लागि आफ्नो जीउज्यानको पनि माया नगरी हाँसीहाँसी शहादत प्राप्त गर्ने व्यक्तिलाई मात्र शहीद घोषणा गर्ने प्रावधान राख्न उनको सुझाव थियो । शहिदको बलिदानीका कारण प्राप्त गणतन्त्रात्मक शासनमा शहीदलाई सम्मान गर्नुका सट्टा आजको दिनमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गरिएकोमा शहिद पाण्डेका दाजु लक्ष्मी पाण्डेले आपत्ति जनाए ।
“नेताहरु देशको ढुकुटी रित्ताउने गरी सत्ता लिप्सामा केन्द्रित हुने तर शहिदका परिवारको दैनिकीको अवस्थाप्रति कति पनि जिम्मेवार नहुने प्रवृत्तिले हामीलाई दुःखी बनाएको छ । वर्तमान सरकारले यस्ता विकृति हटाउने छ भन्ने हामी शहिद परिवारले आशा लिएका छौँ”, उनेले भने ।
शहिद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गरिएको थियो ।-
रासस
प्रतिक्रिया