ताजा अपडेट »

बुटवलमा ५० करोड लगानीमा खुल्यो बुटिक होटल 'ड्रिम इन्टरनेशनल'

आइतबार, २६ मंसिर २०७८

बुटवल । पश्चिम नेपालको आर्थिक तथा पर्यटकीय केन्द्र बुटवलमा यस क्षेत्रमै पहिलो कन्सेप्टका साथ बुटिक होटल सञ्चालनमा आएको छ । बुटवल-९ इट्टाभट्टिमा ५० करोडको लगानीमा ड्रिम इन्टरनेशनल होटल सञ्चालनमा आएको हो ।

बुटिक होटलमा हुनुपर्ने सम्पूर्ण सेवा सुविधासहित आन्तरिक तथा बाह्य पर्यटक लक्षित रहेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक गोपाल रानाले जानकारी गराए । आइतबारदेखि औपचारिक रुपमा सेवा प्रारम्भ गरेको ड्रिम इन्टरनेश्नलमा ट्यारेष्ट रेस्टरुम, रिसोर्ट बार तथा ४० वटा सुपर डिलक्स र स्वीट्स रुम रहेका छन् । यसैगरी २ वटा ८० देखि १०० जनासम्म अट्ने सेमिनार हल रहेको छ ।

साढे ४ कठ्ठा जग्गा निर्माण भएको होटलमा हाल ६० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । होटलको सुविधा विस्तार गर्दै केही समयपछि स्वीमिङ पूलको समेत व्यवस्था गरिने सञ्चालक रानाले बताए । विगत १३ वर्षदेखि तिलोत्तमाको मणिग्राममा होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सञ्चालन गर्दै आएको रानाले ग्राहकको माग तथा सेवा बिस्तार बिस्तार गर्ने क्रममा बुटवलको ड्रिम इन्टरनेशनल सञ्चालनमा ल्याएको जानकारी गराए ।

बुटवलमा हाइ प्रोफाइलका व्यक्ति तथा विदेशी पर्यटकहरुका लागि पर्याप्त र स्तरीय होटल सुविधा नभएको कुरालाई मध्यनजर गरी सेवा विस्तार गरिएको उनले बताए । कोरोना महामारीका कारण १ वर्षमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना भएपनि ३ वर्षपछि मात्रै होटल सञ्चालनमा ल्याइएको उनले जानकारी गराए ।

होटल सुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले स्तरीय सेवा सुविधामा जोड दिए । पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धिका लागि होटल व्यवसाय सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै उनले निजी क्षेत्रबाट भएको पहलप्रति खुसी व्यक्त गरे ।

यसैगरी महासंघ रुपन्देहीका पूर्व अध्यक्षद्वय डिआर घिमिरे र यानेन्द्र जिसीले पर्यटन बिकासका लागि होटल व्यवसायसँगै यस क्षेत्रमा भएका पर्यटकीय र ऐतिहासिक क्षेत्रको समेत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्द्धन मुख्य भएको बताउँदै उनीहरुले यसमा निजी क्षेत्र तथा सरकारले समेत ध्यान दिन आग्रह गरे ।