बोधगया । कोभिडकै त्रासका बिच पर्यटन ब्यवसायलाई कसरी अगाडि बढाउने बिषयमा छलफल गर्ने उद्देश्यले एसोसिएसन अफ बुद्धिस्ट टुर अपेरेटर (अब्टो) को आयोजनामा भारतको बोधगयामा चौथो बौद्ध सम्मेलनको सुरुवात भएको छ ।
एशियामा रहेका बौद्ध सर्किट क्षेत्रमा काम गर्ने टुर अपरेटरहरुको समग्र विकास कसरी गर्ने र यो यी क्षेत्रको पर्यटनलाइ कसरी बढाउने बिषयमा कार्यक्रम गरिएको हो । कार्यक्रमलाइ भारतका केन्द्रीय पर्यटन राज्य मन्त्री अजय भटले सम्बोधन गर्दै बुद्धका शिक्षा पछ्याउनेको संख्या अहिले बढ्दै गएको र यसले बुद्धसंग सम्बन्धित देशमा आश बढाइदिएको बताए । उनले बुद्ध मान्नेको संख्या बढे यसले नेपाल र भारत दुबै देशको पर्यटन विकासमा वृद्धि हुने बताए । यसकारण अहिले दुबै देश द्वेषले हैन थप मित्रवत रुपले अगाडि बढन उनले आग्रह गरे ।
"छिमेकी मुलुकको बारे राम्रो सोचे मैत्री बढ्छ द्वेष सोचे द्वेष बढ्छ । त्यसकारण जुन बाटोमा सबैको कल्याण हुन्छ त्यही बाटोमा अघि बढौ ।" भटले भने । अहिले कोभिडको कारण पर्यटन मात्र हैन सबै क्षेत्रलाइ असर परेको भए पनि भविष्यमा पर्यटन क्षेत्र अहिले भन्दा पनि तिव्र रुपमा अगाडि बढने उनको भनाइ थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले अहिले भारत सरकारले आफ्नो जेष्ठ नागरिकलाइ चार धाम भ्रमणको योजना ल्याएको बताए । बुद्ध धर्म मान्ने वा नमान्ने पनि बुद्ध संग सम्बन्धित क्षेत्रमा भ्रमण गराइनेछ । यसले पनि पर्यटन क्षेत्रमा केही सम्भावना ल्याउने उनले बताए ।
करिब १७ देशका टुर अपरेटर सहभागी कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल बौद्ध अध्ययनको केन्द्र रहेको बताए । उनले बौद्धबारे उत्सुक र जान्न खोज्नेका लागि नेपाल सबै भन्दा उपयुक्त गन्तव्य रहेको बताए । अहिले लुम्बिनीमै अन्तरास्ट्रिय बिमानस्थल सन्चालनको तयारीमा रहेको बताउदै उनले यो सन्चालनसंगै यसले विश्व समुदाय संग लुम्बिनीलाई प्रत्यक्ष जोड्ने जिकिर गरे । उनले नेपाल सरकारले आगामी मार्चमा गर्न लागेको बुद्धिस्ट इन्टरनेशनल ट्रावल मार्टमा सहभागी हुन पनि सबैलाइ आमन्त्रण गरे ।
डिसेम्बर १० देखि १२ तारिक सम्म भएको बौद्ध सम्मेलनमा नेपाल, भारत,कोरिया, भीयतनाम, रसिया लगायत राष्ट्रका बिदेशि अतिथिहरुको उपस्थीति रहेको छ । कार्यक्रमम वोल्दै नेपाल होटल संघका केन्द्रिय सदस्य समेत रहेका सिद्धार्थ होटेल एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले एशियामा रहेका टुर्स अपरेटर्स बौद्ध परिपथको विकाशमा लागेको बताए । उनले यसमा दुबै देशको सरकारले पनि सहयोग गर्न आग्रह गरे । अन्तर सीमा पर्यटनमा सरकारहरुले पर्यटक मैत्री केही खुकुलो नीति बनाउन उनले आग्रह गरे । "अहिले पनि पिसिआर र खोप कार्ड नभएकै कारण पर्यटकहरु सीमा सम्म आएर फर्किनु परेको छ । यी सबै बाधाहरुको ब्यवस्थापन गर्दै सरकार अब पर्यटनको बारेमा सोच्ने समय आएको छ । " श्रेष्ठले भने ।
नेपालबाट नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, सिद्धार्थ होटल एसोसिएसन, लुम्बिनी होटल एसोसिएसन, उद्योग ब्यापार संगठन रुपन्देही, कपिलवस्तु सांस्कृतिक संरक्षण एवं कला विकास केन्द्र, लुम्बिनी प्रेस क्लव, लगायतका संघ संस्थाहरुको प्रतिनिधी मुलक सहभागिता रहेको सिद्धार्थ होटल एसोसिएसनका महासचिव रविन्द्र शर्मा घिमिरेले जानकारी दिए ।
शान्ती तथा पर्यटन मित्र अवार्ड श्रेष्ठ र घिमिरेलाई
भारतको बोधगयामा सुरु भएको चौथो बौद्ध सम्मेलनमा सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ र महासचिव रविन्द्र शर्मा घिमिरेलाई "भगवान बुद्ध लुम्बिनी शान्ति एवम पर्यटन मित्र अवार्ड २०२१" बाट सम्मानित गरिएको छ । मानवता, शान्ती, प्रकृति एवम संस्कृतिलाई पर्यटनको माध्यमबाट र विशेष गरि बुद्ध परिपथको विकासमा खेलेको भुमिकाको लागि पुरस्कृत गरिएको एब्टोका महासचिव कौलेश कुमारले बताए ।
प्रतिक्रिया