बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ मा बेनी, तिलोत्तमा, बुटवल र बिरेन्द्रनगरले विजयी शुरुवात गरेको छ । देविनगरस्थित कदर बहादुर रीता रायमाझी आद्योगिक माविमा विहिबारदेखि सुरु भएको प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कंन्चनपुरमाथि २-० को सोझो सेटमा जित दर्ता गरेको हो ।
यसैगरि दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५-३, २५-७ अंकको सेटमा पराजित गर्दै स्पष्ट जित निकालेको छ । अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदाबरी नगरपालिकालाई २५-१८, २५-४ को सोझो सेटमा पराजित गरेको छ । यसैगरि विरेन्द्रनगर नगरपालिका, सुर्खेतले टिकापुर नगरपालिकामाथि २-१ को जित निकालेको छ । पहिलो सेटमा टिकापुरले २५–२३ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो सेटमा भने लयमा फर्कदै बिरेन्द्रनगर १३-२५, ११-१५ को अंकले जित निकाल्न सफल भयो ।
एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले उद्घाटन गर्दै खेलको विकाससँगै युवा वर्गको विकास हुने बताईन । नगर खेलकुद परिषदको स्थापना गरि बुटवलमा पुर्वाधार विकाससँगै विभिन्न खेलका प्रतियोगिता संचालनमा जोड दिएको उनले बताईन । मानव जिवनलाई स्वस्थ राख्नमात्र नभई युवा खेलाडी उत्पादनमा जोड दिने रुपमा खेदकुद आवश्यक रहेको उनले बताईन । एक वार्ड एक खेलमैदानको अवधारणा अघि बढाएर पुर्वाधारमा जोड दिएको उनले बताईन ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए ।
लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएको उनले बताए । प्रतियोगिता ३ दिनसम्म चल्ने उनले बताए ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको अध्यक्ष नन्दु काउचाले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए । कार्यक्रममा मदनभण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्य, जिल्ला सल्लाहकार पुरन गुरुङ, जिल्ला खेलकुद परिषदका अध्यक्ष मनोज गौचन, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, प्रदेश सदस्य कृष्ण कुमाल, राप्रपा नेपालका निरजप्रताप खाड, नेपाली काग्रेस पार्टीका नगर उपसभापति ज्योति भण्डारी, नगर खेलकुद विकास परिषदका सदस्य सचिव कोपिला ज्ञवाली, सदस्य प्रेम बहादुर बस्नेत, नबिन सारुमगरले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया