ताजा अपडेट »

भैरहवामा पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरद्वारा सरसफाई

बुधबार, २२ मंसिर २०७८

भैरहवा । सिद्धार्थ होटल एशोसिएसनले जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तरगत भैरहवा क्षेत्रका होटल मजदुरलाई अल्पकालीन रोजगार उपलब्ध गराएको छ ।

परियोजनाबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई प्रत्यक्ष राहत पुग्ने गरि कार्यक्रम ल्याएको हो । नेपाल पर्यटन बोर्डको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तरगत सिद्धार्थ होटल एसोसिएसन अफ नेपाललाई आएको ७० लाखबाट पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई प्रत्यक्ष राहत पुग्ने गरि कार्यक्रम ल्याईएको एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए । होटलमा काम गर्ने मजदुरहरुलाई एक दिनको १ हजार रुपैयाको दरले ७० जनालाई उक्त परियोजनाबाट काम गर्ने बताए ।

“यस क्षेत्रमा करिब ३ हजार होटल मजदुरहरु रहेका छन् । सरकारले उपलब्ध गराएको रकम धेरै न्यून भए पनि यसले कोभिडका कारण धराशायी बनेको पर्यटन मजदुरलाई थोरै भए पनि राहत प्रदान गर्नेछ ।” श्रेष्ठले भने “भविष्यमा यस्ता कार्यक्रमलाई दिगो रुपमा लागु गर्न पनि सरकारलाई आग्रह गरेका छौ ।” पहिलो दिन बेलहियाबाट सरसफाईको काममा लगाईएको र क्रमशः देवकोटाचोक र आज बुद्ध चोक छेउछाउमा होटल मजदुरहरुलाई काममा लगाईएको एसोसिएसनका महासचिव रवि शर्माले जानकारी दिए । विशेषगरी पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्याउने लक्ष्य सहित नेपाल पर्यटन बोर्डले यो परियोजना ल्याएको छ ।

परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (र्याफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने जनाएको छ । ‘पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित एक हजार ६ सय जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिह्नको स्थापना तथा मर्मत सम्भार लगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिने योजना लिएको छ ।