ताजा अपडेट »

नेपाली कांग्रेस अधिवेशन : मुस्लिम कोटाबाट रुपन्देहीका २ जना केन्द्रिय सदस्यमा आकांक्षी

मंगलबार, २१ मंसिर २०७८

भैरहवा । नेपाली कांग्रेसको केन्द्रिय अधिवेशनमा केन्द्रिय सदस्यका लागी मुस्लिम कोटाबाट २ जना केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । रुपन्देहीका निर्वतमान जिल्ला सभापति एवम पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक र संविधान सभा सदस्य मोहम्मद ईश्तियाक अहमद खाँनले मुस्लिम कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पुर्व राज्य मन्त्री अब्दुल रज्जाकले एजेन्डा सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा आफनो उम्मेद्धवारी घोषणा गरेका हुन् । संक्षिप्त घोषणा पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको रज्जाकले उल्लेख गरेका हुन् ।

यस्तै लामो समय देखी समाजसेवामा समेत संलग्न रहेका संविधान सभा सदस्य मोहम्मद ईश्तियाक खाँनले पनि सोही पदमा उम्मेदवार हुने बताएका छन् । उनले वैचारिक रुपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्वाचन यहि काठमाण्डौमा हुदैछ । निर्वाचनबाट १ जना सभापति, उप-सभापति २ जना, महामन्त्री २ जना, सह-महामन्त्री ८ जना र सदस्य गरि जम्मा १ सय ३४ जनाकोे चयन हुनेछ । निर्वाचनमा १ महिला सहित ३ जना मुस्लिम कोटाबाट केन्द्रिय सदस्य हुन सक्ने ब्यवस्था रहेको छ ।