ताजा अपडेट »

गठबन्धन तोड्न बिदेशी शक्तिहरु लागेका छन् : महरा

शनिबार, १८ मंसिर २०७८

भैरहवा । नेकपा (माओवादी केन्द्र) को पालिका स्तरीय अधिवेशन आज हुँदैछ । सोही क्रममा सिद्धार्थनगर नगर कमिटीको अधिवेशन आज भैरहवामा हुदैछ । अधिवेशनलाई नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम पूर्व सभामुख कृष्ण बहादुर महराले उद्घाटन गरेका छन् ।

भैरहवामा आयोजित दोश्रो नगर सम्मेलनमा बोल्दै पूर्व सभामुख महराले अहिले रहेको सत्ता गठबन्धनलाई बिदेशी शक्तिहरु लागेर तोड्न खोजी रहेको बताए । ५ संविधानलाई मिचेर जानेहरुले बिदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न खोजेको उनको भनाई छ।

अहिले नेपालका राजनितिक दलहरु दुई धु्रवमा बिभाजित भएको उनले जिकिर गरे । “एउटा समूह संविधानले प्रदान गरेका उपलब्धिहरु जोगाउने पक्षमा लागेको छ भने अर्को ध्रुव फेरी राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धिहरु उल्टाउने अभियानमा लागेको छ ।” महराले भने

महराले अहिले देशलाई नया उर्जा र सन्देश दिने समय आएको उल्लेख गर्दै माओवादी बिभाजित भएर होईन एक भएर लाग्ने आवश्यकता औल्याए । उनले अहिले पूर्व माओवादी दल तथा नेताहरुलाई एकजुट बनाउने प्रयास समेत भई रहेको जानकारी दिए । उनले हिजोसंगै रहेका बाबुराम भट्टराई, बिप्लव लगायतका नेताहरुसंग सहकार्य गरि एक भएर अगाडी बढ्ने गरि छलफल चलाईएको बताए ।

उनले ३ करोड जनसंख्या भएको नेपालमा ८ लाख पार्टी सदस्य रहेको दावी गरे । महराले तराईका समस्याको रुपमा रहेका लालपुर्जाको समस्या र नागरिकताको समस्यालाई आफुले ब्यक्तिगत रुपमा एवम सिंगो पार्टीका तर्फबाट समाधानको लागी पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

माओवादी केन्द्रको २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुने पार्टीका प्रवक्ता समेत रहेका महराले जानकारी दिए ।

नगर संयोजक नारायण बहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का ईन्चार्ज तिर बहादुर रोक्का (डार्विन), सह ईनचार्ज रियाज अकमद खाँ, पूर्व संविधान सभा सदस्य सिता पौडेल, प्रदेश सभा क्षेत्र क का ईन्चार्ज उमेश खनाल, प्रदेश सभा क्षेत्र क का संयोजक मनिष कुमार जोशी, जिल्ला सल्लाहकार अनिल कुमार झा, नगर ईन्चार्ज फैज अहमद खाँ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन मेराज अहमद खाँले गरेका थिए ।

दोश्रो नगर सम्मेलनको अवसर पारेर कोभिड–१९ को दोश्रो चरणको महामारीमा जिल्ला अस्पताल लगायत आम जनसमुदायको मानविय कार्य, कोभिडका बिरामीहरुको सेवा तथा कोभिडबाट ज्यान गुमाउनेहरुको ब्यवस्थापनमा पार्टीले गरेको मानव सेवामा योगदान पु¥याउने बिभिन्न ब्यक्तिहरुलाई सम्मानित समेत गरिएको थियो ।