काठमाडौँ । राप्रपाको नयाँ नेतृत्वका लागि मतदान जारी छ। बिहान ८ बजे तय भएको मतदान कार्यक्रम विभिन्न कारणले प्रभावित बनेपछि भर्खरै सुरु भएको जनाइएको छ ।
निर्वाचन अधिकृतका अनुसार उम्मेदवारहरुको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको हो। यता, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधिहरु आक्रोशित बनेका थिए। मतदान सुरु भएपछि अब भने पालो पाउने आशामा लाइनमा नै रहेका छन् ।
मतदान ढिला भएपछि उम्मेदवारहरुले भने प्रचार गर्ने समय पाएका छन्। उम्मेदवारहरु लाइनमा उभिएका मतदातासँग भोट माग्नमै व्यस्त देखिएका छन् ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया