ताजा अपडेट »

विप्लव नेतृत्वको नेकपा टुक्रियो, सक्षमको नेतृत्वमा नेकपा (क्रान्तिकारी)

बुधबार, १५ मंसिर २०७८

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी टुक्रिएको छ । सो पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ ।

आज (बुधबार) पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ । नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको भन्दै पुर्णत असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ ।

प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए । उनले विप्लव नेतृत्वको नेकपा पुर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमत संग्रह नामको चुनावमार्फत बैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेर पुर्णत असफल भैसकेको छ ।’

उनले फेरी क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरि क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे । शहिदहरुको बलिदान र वर्गसंघर्षको भट्टीबाट पुनः क्रान्तिको झण्डालाई फहराउँदै नयाँ इतिहास रच्ने र सहिदका सपना पुरा गर्ने प्रतिबद्धता सहित पार्टी गठन गरिएको उनको भनाई थियो । नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै उत्पादनसहितको ‘शसस्त्र जनविद्रोह’ मार्फत पुनः क्रान्तिकारीहरुकौ एकता र ध्रुवीकरण गर्दै समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको समेत केन्द्रीय सदस्य गोपालीले स्पष्ट पारे । नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाईएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि सचिवालय गठन गरिएको छ ।